प्रत्यक्ष रोजगारीसंग जोड्दै सीटीइभीटी

Share this post :

Facebook
Twitter
WhatsApp

प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम (सीटीइभीटी)ले वेरोजगारी युवा तथा महिलालाई प्रत्यक्ष रोजगारीमा जोड्नको लागि गण्डकी प्रदेशभर तालिमको आयोजना गर्दै आएको छ । विभिन्न प्रकारका सीप सिकाएर रोजगारीसंग जोड्ने सीटीइभीटीको लक्ष्य हो ।
सो योजना अनुसार नै प्रदेशका सम्बन्धित जिल्लाका स्थानीयसंग समन्वय गरेर तालिमको आयोजना गरिएको सीटीइभीटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए । उनका अनुसार सिलाईकटाई, व्युटीसियन, कृषि, हस्पिटलाइज, इन्जिनियरिङ, कुकिङ, पर्यटन, वइरिङ लगायतका क्षेत्रमा तालिम आयोजना गरिएको छ ।
तालिमको खर्च सीटीईभीटीले गर्दै आएको छ । तालिममा आवश्यक उपकरण र व्यवसाय गर्नेको हकमा स्रोत, साधन सम्बन्धीत तहले नै व्यवस्थापन गर्नेछ । स्थानीय तहको आवश्यकता पहिचान गरि तालिम दिइने आचार्य बताउछन् । एक लटमा तालिम ६५ दिन चल्छ । सीटीइभीटीले चालु वर्षमा तालिमको लागि ५ करोड रुपैया विनियोजन गरेको छ । जसअन्तर्गत ३ हजार जनालाई तालिम दिने योजना तय गरेको छ । बाग्लुङ नगरपालिका, म्याग्दे गाउँपालिका, बुलिङटार गाउ“पालिका लगायतका स्थानीय तहमा तालिम संचालन भइरहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गतवर्ष ४ हजारले तालिम लिएका थिए ।
तालिम लिएर पनि रोजगारीमा संलग्न नहुने हुदाँ तालिम प्रभावकारी नदेखिने निर्देशक आचार्य बताउँछन् । उनले भने, ‘लगानी गरे अनुसार सन्तुष्टि पाएका छैनौ । तालिममा राज्यको ठूलो लगानी छ ।’ उनले तालिम दिएकामध्येबाट ५० प्रतिशतलाई व्यवसायी बनाउने लक्ष्य अनुसार तालिमको व्यवस्थापन गरिएको बताए । युवायुवतीको सहमस्या पहिचान गरेर मात्र तालिम दिइने उनले बताए । ‘कृषिमा पनि आकर्षण बढेको छ’ उनले थपे, ‘कुक र व्युटीसियनको तालिमको माग बढी हुन्छ ।’ कुकिङ र इन्जिनियरिङ सम्बन्धित तालिम लिनेहरु विदेशिने बढी रहेको उनको भनाई छ । कतिपयले प्रमाणपत्रको लागि मात्रै पनि तालिम लिने गरेका उनले बताएका छन् । ‘अव हामीले तालिमलाई तालिममै सीमित गराउदैनौ’ उनले भने, ‘तालिम लिनुभन्दा पहिला आवश्यकता के हो ? समस्या के छ ? सवै बुझेर मात्र दिन्छौ र व्यवहारमा नै कार्यान्वयन गराउछौ ।’ आचार्यका अनुसार तालिममा मात्र देशभर १८ अर्व रुपैया बजेट खर्च हुन्छ ।
‘स्थानीय तहबाट पनि तालिममा ठूलो रकम खर्च भएको छ यो तथ्यांक आइसकेको छैन’ उनी भन्छन, ‘आगामी दिनमा हालसम्म भएका लगानीको थप अध्ययन गरी लगानी गर्ने र कार्यक्रम स्वीकृत गर्नुपर्छ । यसका अतिरिक्त कृषि, पर्यटन, श्रम तथा रोजगार लगायतका संस्थाले जिविकोपार्जन सम्बन्धित तालिम दिदै आएका छन् । गैरसरकारी संस्था तथा नीजि क्षेत्रले समेत सीपमूलक तालिममा लगानी गरेका छन् । यिनीहरुको पनि लेखाजोखा छैन् ।’ उनले विभिन्न क्षेत्रबाट दिइने तालिमलाई आगामी दिनमा एकीकृत गरेर कार्यक्रम तय गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *