गण्डकी प्रदेशमा पहिलोपटक क्यान्सरपीडित बालबालिकाको लागि निःशुल्क उपचार गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल)ले विगत तीन वर्षदेखि बालबालिकामा लाग्ने क्यान्सर रोगको निःशूल्क उपचार गर्दै आएको छ । काठामाडौको कान्ति बाल अस्पतालको सहकार्यमा गण्डकी प्रदेशमै पहिलोपटक क्यान्सरपीडित बालबालिकाको उपचार गरिएको अस्पतालका बाल रोग विभाग प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म १० जना बालबालिकाको उपचार गरिएको छ । उपचारको क्रममा तीन वर्षिया बालिकाको मृत्यु भएको छ भने नौ जनाको सफल उपचार भइरहेको डा बास्तोलाले बताए । उपचारत बालबालिका ३ देखि ६ वर्षसम्मका छन् । बास्तोलाले बाल क्यान्सरको सवै उपचार र औषधी निःशुल्क हुने बताए । ‘रोग पहिचानपछि पहिलो चरणको उपचार गर्नको लागि बाल कान्त अस्पताल नै पठाउँछौ’ उनले भने, ‘हामीले पहिलो चरणको उपचार गर्न सक्दैनौ । ६ महिनाको जटिल उपचार (जुन प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्छ) हुन्छ । त्यसपछि दोस्रो, तेस्रो र चौथो चरणको उपचार हामी गर्छौ ।’ कान्ति अस्पतालबाट आएका विरामीको नियमित र निरन्तर फ्लोअप उपचार पोखराबाटै गरिने उनले बताए ।
पोखरामा फ्लोअप उपचार हुँदा काठमाडौ धाउनुपर्ने बाध्यता नहुने, आर्थिक र समयको बचत पनि हुने डा बास्तोला बताउँछन् । ९ पुस २०७८ मा प्रतिष्ठानले कान्ति बाल अस्पतालसंग सम्झौता गरि बालबालिकाको क्यान्सर उपचार सेवा सुरु गरेको हो । कान्ति अस्पतालले प्रतिष्ठानलाई बाल क्यान्सर रोग उपचार सम्बन्धि तालिम, मानव संसाधन पुनर्ताजर्गी र औषधी साथै विरामीलक्षित विभिन्न पूस्तिका उपलब्ध गराउँदै आएको छ । तीन वर्षदेखि सुरु गरिएको सेवा संचालनमा समस्या छ की छैन भनेर कान्ति अस्पतालले समय-समयमा फ्लोअप तालिम दिएको छ । यसबाट समस्या, थप सहयोग र आवश्यक स्रोत-साधनको बारेमा छलफल हुने कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा शनि सिपाईले बताए ।
प्रदेशमै पहिलोपटक यो सेवा दिइएको भए पनि अन्य प्रदेशको तुलनामा राम्रो रहेको उनको भनाई छ । पोखराले सेवा प्रवाहलाई विस्तार गर्ने तयारी गरेको छ । अस्पतालमा एउटा जैविक सुरक्षात्मक कक्ष आवश्यक रहेको डा शनिले बताए । यो कक्ष बनाउन प्रतिष्ठानले आवश्यक पहल गरेको जनाएको छ । कान्ति बाल अस्पतालले पनि यसका लागि आवश्यक सहयोग गर्ने शनिले बताए । अस्पतालमा आवश्यक पूर्वाधारको व्यवस्था भए पनि दक्ष तालिमप्राप्त स्टार्फ नर्सको अभाव रहेको डा बास्तोलाले बताए । उनले कान्ति बाल अस्पतालमा गरिने पहिलो चरणको ६ महिने उपचार पनि पोखरामा नै गर्ने लक्ष्य रहेको सुनाए । ‘पोखरामा नै पहिलो चरणको उपचार भयो भने जनतालाई धेरै राहात मिल्ने थियो’ उनले भने । आर्थिक अभावकै कारण उपचारकै क्रममा कतिपय विरामी अस्पतालबाटै भाग्ने गरेको चिकित्सकको भनाई छ ।
बाल क्यान्सर रोगको उपचारमा १५ देखि २० लाख रुपैयाँसम्म खर्च लाग्छ । संघ र प्रदेश सरकारले १÷१ लाख रुपैयाँ आर्थिक सहयोग गर्छन् । बिमा गरेको बाहेक अन्य उपचार खर्च अस्पतालले निशुल्क गर्दै आएको छ । कतिपय सहयोगी दाताबाट सहयोग प्राप्त हुने गरेको डा.सिपाईले बताए । बाल क्यान्सर उपचार सेवा कर्णाली र मधेश प्रदेशबाहेक गण्डकीसहित ५ वटै प्रदेशमा बिस्तार भइसकेको छ । कर्णालीमा केही दिनमै यो सेवा सुरु हुनेछ भने, केही महिनाभित्र मधेश प्रदेशमा पनि सेवा बिस्तार गर्ने योजना कान्ति बाल अस्पतालको छ । नेपालमा क्यासन्रपीडित बालबालिकाको संख्या भने यकिन छैन् । वार्षिक कति बालबालिकालाई क्यान्सर रोग लाग्छ भन्ने भने यकिन तथ्यांक नहुने डा सिपाईले बताए । ‘तर पनि वर्षेनी १२ सयदेखि १५ सय जनासम्म विभिन्न क्यान्सरबाट पीडित हुन्छन’ उनले भने । जन्मेदेखि १४ वर्षसम्मका बालबालिकामध्ये यो संख्या क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरिएको र कहिलेकाँही १९ वर्षसम्मको पनि क्यान्सरबाट पीडित हुने गरेको उनले उदाहरण दिए । बालबालिकामा रक्त क्यान्सर (लिउकेमिया) बढी देखिने डा शनिको भनाई छ ।