प्रधानमन्त्रीद्वारा जनयुद्ध दिवसकाे शुभकामना

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री एंव् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जनयुद्ध दिवसकाे शुभकामना व्यक्त गरेका छन् । फागुन १ गते २९ ओैँ जनयुद्ध दिवस मनाईरहदा समावेशी लाेकतन्त्र संस्थागत भएकाे बताए ।

शुभकामना जस्ताकाेतस्तै :-

महान् जनयुद्धको २९ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति स्मरणसहित उच्च सम्मान र घाइते योद्धाहरूमा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दछु ।
महान् जनयुद्धले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो । जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ, समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ। सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ। यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।
जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।
जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रथम विधान सम्मेलनमा होमिएको छ। यस अधिवेशनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास छ। अन्त्यमा, जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
मिति : २०८० फागुन १ गते
नेपाल संवत् ११४४ सिल्ला थ्व चौथी
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *