नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवं् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थको लागि अध्यादेश ल्याउन लागेको बताएका छन् । सरकारले दुई दलिय व्यवस्थाका लागि अध्यादेश ल्याउने प्रचार गरेको भन्दै नेता नेपालले काँग्रेसलाई भ्रममा राख्दै एमाले बलियो बनाउन लागेको अराोप उनको छ ।
समाजवादी प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यसअघि सरकारले आवश्यकताको लागि अध्यादेश ल्याएको बताए । ‘अहिले आवश्यक भन्दा पनि पूर्वाग्रहीका साथ ल्याउन लागिएको हो’ नेपालले भने, ‘उ बेला पार्टीभित्रको ठूलो हिस्सा अन्यायमा परेको थियो । जनता सडकमा उत्रिएका थिए । त्यस बेला न्याय चाहिएको थियो । अहिले कुनै बाध्यता छैन । स्थिति छैन । तर, सरकारलाई समाजवादी पार्टी फुटाउनु छ ।’
नेपालको राजनीति र नेपालको मौसम उस्ताउस्तै रहेको भन्दै पूर्वानुमान गर्नै नसकिने उनको व्यंग थियो । अहिलेको सरकार काम गर्ने भन्दा पनि बोल्ने मात्र रहेको बताए । जनताको पीडा सम्बोधन र समाधानमा सरकार इमानदारीका साथ नलागेको भन्दै नेपालले विपद्मा पनि सरकार हराएको प्रतिक्रिया दिएका थिए ।
नेपालले माओवादीसंग एकताको सम्भावना रहेको र एमालेसंग कल्पना नै गर्न नसकिने बताएका थिए । सहकारीपीडितका मुद्वालाइ तत्काल सम्बोधन गर्नुपर्ने उनले बताए । नजिकिदै गरेको उपनिर्वाचनमा पनि समाजवादी एक्लै चुनाव लड्ने र यसका लागि उम्मेदवार तयार भएको उनले बताए ।