प्रमुख दललै गराएनन् उम्मेदवार दर्ता

Share this post :

Facebook
Twitter
WhatsApp

स्थानीय तहको निर्वाचनको लागि स्याङ्जामा आइतबार प्रमुख दलले नै उम्मेदवारी दर्ता गराएनन् । प्रमुख दल उम्मेदवार छनोटमै व्यस्त रहेको बताउदै उम्मेदवारी दर्ता नगराएको निर्वाचन अधिकृतहरुले जनाएका छन् । निर्वाचन अधिकृतका अनुसार उम्मेदवार टुंगो नलागेका कारण उम्मेदवारी दर्ता नगराएको जानकारी मात्र आएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवारी अनुवर अलिले दिएका छन् भने वडा नम्बर ९ मा वडाध्यक्ष पदको लागि जितबहादुर गुरुङको मात्र स्वतन्त्र उम्मेदवारी परेको छ । भीरकोट नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकामा एउटा पनि उम्मेदवारी परेन् । कालीगण्डकीमा उम्मेदवारले मनोनयन पत्र मात्र लिएर गएका छन् । यस्तै, हरिनास गाउँपालिकामा १ र २ नम्बर वडामा काँग्रेसको तर्फबाट दुइ जनाले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने, वालिङमा मेयर र उपमेयर पद र केही वडामा वडाध्यक्ष पदमा मंगल नेशनल अर्गानाइजेशन उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार मंगल नेशनल पार्टीबाट वडाध्यक्षमा परेको उम्मेदवारीको एकिन भइसकेको छैन् ।
यसैगरी, फेदीखोला गाउँपालिकामा प्रमुख पदमा मंगल पार्टीको तर्फबाट शेरबहादुर गुरुङले उम्मेदवारी दिएका छन् भने, ३ जनाले वडा सदस्यमा उम्मेदवारी दिएका छन् । जसमा १ जना मंगल र दुई जना राष्ट्रिय प्रजातन्त्र पार्टीका रहेका छन् । वडा नम्बर दुईको वडाध्यक्ष पदमा पनि मंगल नेशनलबाटै उम्मेदवारी परेको छ । चापाकोट नगरपालिकामा प्रमुख पदसहित ६ वटा वडामा वडाध्यक्ष र ७ वटा विभिन्न वडामा खुला सदस्य पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । गल्याङ नगरपालिकामा मेयर र उपमेयर पदमा मंगल नेशनल र मौलिक जरो किलो पार्टीले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । आँधीखोला गाउँपालिकामा एमालेले प्रमुख, उपप्रमुख र ६ वटै वडाका सवै पदमा उम्मेदवारी दर्ता गराएको छ भने, अन्य दलबाट उम्मेदवारी दर्ता परेन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्ला इन्जार्च शैलेन्द्र घिमिरेले आफनो पार्टीबाट उम्मेदवारको नाम सिफारिस भए पनि गठबन्धनबीच सहमति नजुट्दा उम्मेदवारी दर्ता नगरिएको बताए । ‘फेदीखोला र हरिनास गाउँपालिकामा मात्र गठबन्धनबीच सहमति भएको छ’ उनले भने, ‘अन्य पालिकामा सहमति जुट्न सकेन् ।’ कांग्रेस जिल्ला प्रवक्ता भरतप्रसाद लम्सालले उम्मेदवारको टुंगो नलागिसकेको बताए । उनले मनोनयन दर्ताको समय बाँकी नै रहेकाले पार्टीभित्र उम्मेदवार छनोटको प्रक्रिया भइरहेको बताए । उनका अनुसार आइतबार रातीसम्म उम्मेदवारको टुंगो लाग्नेछ । एमालेले सवै पालिकामा उम्मेदवार सिफारिस गरेको भए पनि आइतबार आँधीखोलामा बाहेक अन्य पालिकामा उम्मेदवारी दर्ता गराएन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *