फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि फरार रहेका ४६ वर्षिय उमेश गिरी भन्ने उमेशबहादुर गिरी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–१२ डेरामा बस्दै आएका गिरीलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भरतपुर–१२ धनगडा मन्दिर नजिक नौरङ्गीटोलमा रहेको सिमा अधिकारीको घरमा कोठा भाडामा लिई लुकीछिपी बस्दै आएको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ज्ञानबहादुर खड्काका अनुसार पक्राउ परेका गिरीलाई आइतबार जिल्ला अदालत कास्की हाजिर गराई तोकिएको सजाय सर्वस्वसहित जन्मकैद (२५ वर्ष) भुक्तानको लािग जिल्ला कारागार कास्की चलान गरिएको छ । गिरी लामोसमय वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएका थिए । केही वर्षअघि मात्र नेपाल फर्किएका उनी चितवनको धनगडा मन्दिर आसपास रहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य बढाएको थियो । प्रहरीको अनुसन्धान अनुसार घटनामा आफ्नो संलग्न रहेपछि गिरी प्रहरीको निगरानीमा थिए । घटनापश्चात उनी भागेर काठमाडांै पुगे । त्यहा“बाट कतार गए र करिव १२ वर्ष बसे । त्यसपछि ३ वर्ष इराक र २ वर्ष अफगानिस्थान बसे । करिव ८ वर्षअघि उनी नेपाल फर्किएको प्रहरीको अनुसन्धानले बताएको छ । चितवनमा उमेशले वर्कसप, वाइनसप पसल खोलेका थिए । बाबुआमासहित सवै परिवार युके बस्ने र आफू पनि परिवार भेट्न युके जाने भनेर गिरी ७ महिना भारत गएका थिए । डेढ महिनादेखी चितवन कोठामा लुकिछिपी बस्दै आएको प्रहरीले जनाएको छ ।
यस्तो छ उनी संलग्न घटना
२०५६ साउन २२ गते पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थित ताज पुलमा राजेश थकालीलाई हत्या गरिएको थियो । घटनामा पेले भन्ने प्रेमकुमार पुन, खेलेन भन्ने दिपक पुन, श्याम भन्ने कुमार पुन, आनन्द प्रधान, लक्ष्मीप्रसाद पराजुली, डिके भन्ने डिकप्रसाद पुन, योगेश पुन, पाण्डुवा भन्ने मोहन गाइने, पुरथ गौचन र उमेश गिरी संलग्न थिए । धारिलो हतियार छुरा, खुकुरी र छड (फलामको रड) प्रयोग गरी टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानले जनाएको छ ।
घटना अनुसन्धानको क्रममा प्रहरीले उमेश गिरी बाहेक अन्य प्रतिवादीलाई पक्राउ गर्यो । अनुसन्धानपछि प्रहरीले सोही मुद्दा कास्की जिल्ला अदालतमा पेश गर्यो । उनीहरु पुर्पक्षको लागि थुनामा गए । २०५८ चैत १ गते जिल्ला अदालतको फैसलाले प्रतिवादी पेले भन्ने प्रेमकुमार पुन, आनन्द प्रधान, खेलेन भन्ने दिपक पुनलाई सर्वस्वसहित जन्मकैद सजाय सुनायो । पान्डुवा भन्ने मोहन गोइने, योगेश पुन, डिके भन्ने डिकप्रसाद पुन, लक्ष्मीप्रसाद पराजुलीलाई ३ वर्ष कैद सजाय तोकेको थियो भने, फरार रहेका प्रतिवादी उमेश गिरीको हकमा अदालती बन्दोवस्तीको महल १९० बमोजिम मुत्लवीमा रहने ठहर भएको थियो । गिरीको हकमा मुत्लवीमा रहेको मुद्दा २०६६ साउन २७ गतेको आदेशले मुत्लवीबाट जागी दर्ता भई २०६६ फागुन २७ गते फैसला हुँदा सर्वस्वसहित जन्मकैद सजाय तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *