फेरियो कालिगण्डकी, फेरिएन किसान घिलेको दैनिकी

Share this post :

Facebook
Twitter
WhatsApp

संघियता कार्यान्वयन भएसंगै गाउँमा विकासले फड्को मार्यो । दुर्गम मानिने ठाउँ आजभोली चहलपहल हुन थालेका छन् । स्थानीय बजारीकरण बढ्दै गयो । गाउँमा सडक गए । खानेपानी र विजुलीको पनि सुविधा पुग्यो ।

जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो प्राथमिकतामा विकास रोजे । जसका कारण गाउँ शहर बने । शैक्षिक र स्वास्थ्य सुविधा पनि गाउँमै हुन थालेपछि केही हदसम्म बसाईसराँई रोकिन पुग्यो । स्याङ्जाको कालीगण्डकी गाउँपालिका जिल्लाकै दुर्गम क्षेत्र हो । नेपालकै ठूलो जलविद्युत्त परियोजना ‘कालीगण्डकी ए’ यसै पालिकामा पर्छ । परियोजनाले यहाँको ठाउँलाई विकासमा धेरैथोरै सहज बनायो ।

यससंगै संघियता कार्यान्वयन भएपछि पालिकामा विकासले गति लिएको थियो । पालिकाले यहाँका जनतालाई सेवासुविधा सम्पन्न गराउन विजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि अनुदान, पर्यटनमा लगानी लगायतका सुविधा दिएको छ । यहाँका बासिन्दाको विजुलीको न्युनतम महशुल पालिकाबाटै तिरिन्छ ।

८० प्रतिशतको घरघरमा खानेपानीको धारा पुगेको छ । गाउँमा लाइब्रेरीको पनि उस्तै व्यवस्था छ । आलमदेवी र सेतीवेणी लगायतका धार्मिक र कालीगण्डकी स्टीमर, ड्याम जस्ता पर्यटकीय हिसावले यहाँका ठाउँ चर्चित छन् । आन्तरिक तथा बाह्रय पर्यटकको पनि आगमन भइरहन्छ जसले कालीगण्डकीको मुहार फेरिएको छ ।

यहाँका व्यक्ति विदेश जाने र रोजगारीको लागि बाहिरी जिल्ला जाने क्रम बढ्दो छ । तर, यही पालिका अन्तर्गत ३ नम्बर वडाका किसान घिलेको दैनिकी भने फेरिन सकेन । आलमदेवी मन्दिरमा नगरा बजाउदै आएका घिले अहिले पनि ८२ रुपैयाँका लागि दिनभर काम गर्न बाध्य छन् । विक्रम संवत् १३५० सालमा स्थापना भएको शाह बंशीय कुल मन्दिरको अगाडि सानो कोठा छ । त्यही कोठामा दमाहा राखिएको छ ।

स्थानीय ६० वर्षिय घिलेको दैनिकी त्यही दमाहामा वित्छ । मन्दिरको स्वरुप वर्षेनी फेरिएको छ तर, त्यही मन्दिरमा काम गर्ने घिलेको दैनिकी भने फेरिएन् । १७०८ बाट बाउ, बाजले गर्दै आएको पेशा अहिले उनले धानेका छन् । विहान पुजा सुरु भएपछि चर्को आवाज निकाल्दै दमाहा पिटेर नगरा बजाउन थालेको पनि २१ वर्ष पुगेको घिले बताउँछन् ।

‘सरकारी जागिर खाएको भए अहिले पेन्सन पाक्थ्यो’ घिले भन्छन, ‘सरकारले कम्तीमा दैनिक ५७७ रुपैयाँ ज्याला पाउने नियम छ तर, म भने दैनिक ८२ रुपैयाँ १३ पैसामा काम गर्दै आएको छु ।’ उनले पुख्यौली पेशालाई निरन्तरता दिएको बताए । उमेर पनि बढ्दै गएकाले अव अन्यत्र गएर जागिर खाने समय नभएको बताउदै उनले अवका दिनमा पनि यही काम गर्नुको विकल्प नरहेको दुखेसो पोखे ।

विहान ५ बजे मन्दिरमा नगरा लगाउन पुग्ने घिले केहि समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिरमा पुग्ने गर्छन् । पुजा नहुँदा २ बजेपछि घर जाने घिलेलाई घाम अस्ताउने बेला भने नगरा लगाउन मन्दिरमा पुग्नै पर्ने बाध्यता छ । आफन्तको विहे, ब्रतबन्ध, मर्दापर्दासमेत जान नपाउने दुखेसो गर्दै घिले भन्छन, ‘निम्ता वा जानै पर्ने ठाउँमा तल्लो घरको भाइलाई एक दिनको सहयोग माग्छु र जाने गर्छु ।’

मन्दिरमा आउने भक्तालुले सहयोग बापत दिने रकम उनको सहारा बनेको छ । ऐतिहाँसिक महत्व बोकेको मन्दिरको परम्परा बचाउन बिगतमा अझ थोरै रकममा काम गरेका घिलेले उचित पारिश्रमिकको व्यवस्था गरिदन सम्बन्धित व्यक्तिसंग आग्रह गर्दै आएको बताए । नगरा बजाउने घिलेको पारिश्रमिक थोरै रहेको बताउदै मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले गुठी संस्थानबाट बार्षिक ८४ हजार र मन्दिरमा गरिने दानबाट उठ्ने रकमबाट मन्दिरको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘सोही रकमबाटै घिलेलाई बार्षिक ३० हजार रुपैयाँ व्यवस्थापन गरिएको छ’ उनले भने, ‘मन्दिरमा आर्थिक अवस्था न्युन हुँदा घिले मर्कामा पर्नुभएको छ । पालिकासंग समन्वय गरेर केहि रकम थप गर्नेछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *