स्याङ्जाको वालिङ नगरपालिका-१२ स्थित फौदीखोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा १५ लाखको लागतमा पुलको निर्माण कार्य थालिएको हो ।
पुलको मंगलबार वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण, स्थानीय ज्येष्ठ नागरिकद्वय ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।विशेषगरी वर्षायाममा सवारी साधान उक्त खोला पार गर्न समस्या भएकाले मोटरेबल पुलको निर्माण कार्य थालिएको नगर प्रमुख खाँणले बताए ।
‘गाउँलाई शहरसँग र शहरलाई गाउँसँग जोड्ने यस क्षेत्रको महत्वपूर्ण सडककोरुपमा यसलाई अगाडि सारेका छौं’ नगर प्रमुख खाँणले भने, ‘पुलको निर्माणसँगै गाउँमा उत्पादन भएका कृषि तथा पशुजन्य उत्पादनहरु बजारसम्म पुयाउन र गाउँमा आवश्यक पर्ने सामग्रीहरु गाउँमा पुयाउन सहज हुने छ ।’
निर्वाचित भएर आएसँगै यहाँको मुख्य समस्याकोरुपमा रहेको फौदीखोलामा पुल निर्माण गर्ने कार्यका लागि पटकपटक मन्त्रालयमा प्रयास भए पनि योजना प्राप्त नभएकाले नगरपालिकामार्फत निर्माण कार्य थालिएको वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङले बताए ।
‘पुलको डिपिआर गरेर मन्त्रालयमा फाईल पठायौं तर सुनुवाई भएन’ वडा अध्यक्ष गुरुङले भने, ‘सुनुवाई नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौं र शिलान्यास गरेर काम थालिसकेका छौं ।’
पुल नहुँदा उक्त खोला वारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाईकल तथा स्कुटर बगाउँदा मानिस घाईते समेत भएका थिए । खोलामा बाढी आएको बेला सवारी साधन वारपार गर्न नसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो । पुल निर्माणसँगै स्थानीयलाई सहजता हुने भएपछि स्थानीयहरु हर्षित छन् ।
वालिङ १३ को बायँटारी बजारदेखि वडा नं. १२ लाई सडक सञ्जालसँग जोड्न वालिङ १२ र १४ को सीमामा रहेको फौदीखोलामा आवतजावतमा सहज पहुँच पुयाउन खोलामा पक्की पुलको शिलान्यास गरिएको हो । पुल आगामी दुई महिनाभित्रैमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिए । नगरपालिकाको पहिलो चरणमा १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाका लागि थप ५ लाख गरी कूल २० लाखको लागतमा निर्माण सम्पन्न हुने भएको हो । पुलको लम्बाई र चौडाई ६/६ मिटर रहने छ ।