बनाउन नपाउदै विभिन्न वहानामा सडक भत्काउनै हतार

Share this post :

Facebook
Twitter
WhatsApp

मुस्ताङचोकदेखी राष्ट्रवैक चोक हुदै पर्यटकीय गन्तव्य पोखराको लेकसाइड पुग्ने सडकको मर्मत तथा कालोपत्र गतबर्ष गरिएको थियो । राष्ट्रवैंक चोकबाट ड्यामसाइड हुदै विरौटा र चालिसे चोक हुदै सृजनाचोक, न्युरोड क्षेत्र सडक निकै व्यस्त सडक हुन । मन्त्रालय, सरकारी कार्यालय, प्रहरी, प्रशासन र न्यायलय पुग्ने रुट पनि यही पर्छ । लामो समयदेखी अस्तव्यस्त रहेको यी सडक गतबर्ष बनाइएको थियो ।
मुस्ताङचोकदेखी लेकसाइड हुदै खहरेसम्म पूर्वाधार विकास कार्यालय कास्की, विरौटादेखी राष्ट्रवैंक चोक हुदै सृजनाचोकसम्म सडक डिभिजन र न्युरोड आसपास पोखरा महानगरपालिकाले कालोपत्र गरेको हो । सडक बनाएको एकबर्ष नपुग्दै पुन भत्काउन थालिएको छ । नेपाल खानेपानी संस्थानले खानेपानी वितरणको व्यवस्थापनको लागि सडक भत्काएको बताएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका योजना महाशाखा प्रमुख राम पराजुलीले सडक पहिलेकै अवस्थामा मर्मत नगरे समस्या नआउने बताए ।
‘यदी सडक मर्मत गर्दा राम्रोसंग गरिएन भने भत्किन थाल्छ । एकनासले गरिएको कालोपत्र खण्डखण्ड पर्छ । सडक टिक्दैनन् । त्यहीबाट भत्किन थाल्छन् ।’ राष्ट्रवैंकचोक, पृथ्वीचोक, नयाँबजार लगायतका विभिन्न क्षेत्रमा सडक खनिएको छ । यसरी सडक खन्दा विग्रने र त्यही ठाउ“बाट भत्किने, पानी बग्ने जस्ता समस्या हुने मन्त्रालयले जनाएको छ । गण्डकी सरकारको ६ करोड बजेटले सडक कालोपत्रे गरिएको थियो ।
राष्ट्रबैंक चोकस्थित रविन्द्र कार्की भन्छन, ‘खानेपानी होस या ढल व्यवस्थापन, सडक बनाउनुपहिलै गर्नुपथ्र्यो । सडक बनाएर सकाउन पाइएको छैन फेरि भत्काउन थालियो । राम्रो सडक कहिलै देख्न नपाइने भयो ।’ उनले यसरी ठाउँ ठाउँमा सडक भत्काउदै टाल्दै गरेमा सडकको कालोपत्रे टिकाउ नहुने बताए । मन्त्रालयका अनुसार भत्काएको ठाउँको सडक पहिलेको जस्तै बनाउने सहमति भएको छ । नेपाल खानेपानी संस्थान पोखराले जायीकाको सहयोगमा दुई बर्षअघि देखी खानेपानीको व्यवस्थापन गर्न थालेको हो । कार्यालय प्रमुख आशिष कार्कीले कोरोना कहरका कारण दुईदुई पटक भएको लकडाउनका कारण काममा ढिलाई भएको बताए । ‘एकसय मिटर पाइप लाइन विच्छ्याउने हो’ उनले भने, ‘अहिलेसम्म जम्मा ५० मिटर पाइप विच्छ्याइएको छ । लकडाउनको बेला जापनीज ठेकेदार बीचमा नै काम छाडेर जापान गए । आउन ढिला भयो । जसले गर्दा काम समयमै सकिएन ।’ उनले सडक बनाएर सकाउन नपाउदै भत्काउनुपरेको बताए । ‘सडक निर्माण कार्य हुदै पाइप विच्छ्याउने योजना थियो’ कार्कीले थपे, ‘कतिपय ठाउँमा सडक बन्दै गर्दा खानेपानीको व्यवस्थापन गरियो । कतिपय ठाउँमा भत्काउनुपरेको छ ।’
जायीकाले ४ अर्व ८० करोड बजेटमा खानेपानी शुदीकरण गर्न लागेको कार्यालयले बताएको छ । कार्यालयका अनुसार खानेपानीमा हिलो र लेदो आउने समस्या छ । पाइप विच्छ्याएपछि घरघरमा शुद्द खानेपानी आउने र पिउनको लागि पनि पाइपकै पानी प्रयोग गर्न सकिने कार्कीले बताए । उनले अझै एकबर्षसम्म सडक भत्काउनुपर्ने स्थिति आउने बताए । बीचबीचमा सडक भत्काउने, नाली सरसफाई नगर्ने र पानी सडकमै बगाउदा सडक लामोसमयसम्म नटिक्ने प्राविधिक स्वंम बताउछन् । सडक राम्रो भएपनि नाली साना भएकाले पोखरामा पानी सडकमै बग्छ ।
जसका कारण सडक भत्किन सुरु हुने प्राविधिकको भनाई छ । विभिन्न कारण देखाउनै बनाइएको सडक भत्काउने काम उचित नहुने स्थानीयको भनाई छ । स्थानीय रमा कार्की भन्छिन, ‘धुलो खादाखादै हैरान परेका थियौ । अव त सडक राम्रो बन्यो भनेको फेरि भत्काउन थालियो । धुलो र हिलो कहिलै नछुट्ने भयो ।’ उनी सडक भत्काएर पुन टालेपछि हेर्दा राम्रो पनि नदेखिने बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *