बन्धकीमा जग्गा लिएर सामूहिक खेती

Share this post :

Facebook
Twitter
WhatsApp

बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर सामूहिक खेती सुरु गरेको छ । तनहुँको म्याग्दै गाउँपालिका–१ गुणदीस्थित गरिब परिवारलाई संस्थाले सामूहिक खेती गर्न लगाएको छ । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जनाए ।
सो वडाका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिव र विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । वार्षिक ८ लाख २५ हजार बुझाउने गरी ५ वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उनले बताए । अति विपन्न ५ परिवारलाई ६५ हजारका ५ वटा पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताए ।
वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताएका छन् । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, धान र तरकारी खेती गरेर राम्रो उत्पादन गर्दै आएको संस्थाकी सचिव देउमाया थापाले बताइन् । स्थानीय केशीमाया आलेले आफ्नो प्रशस्त जग्गा नहुँदा बिहान बेलुकाको छाक टार्न पनि धौधौ भएको अवस्थामा सामुदायिक वनले जग्गा उपलब्ध गराएर ठूलो राहत प्रदान गरेको बताइन् ।
यसवर्ष आलुखेतीबाट एक घर परिवारले ८० किलो आलु पाएका थिए । मङ्सिरे र चैते धान गरी वर्षमा एक जनाको भागमा करिब १७ मुरी धान पाउँदा घर परिवार चलाउन सहज भएको उनले बताइन् । स्थानीय राममाया विक र कलावती परियारले पनि आफ्नो जग्गा नहुँदा परिवार पाल्न कठिनाइ हुँदै आएकामा अहिले जग्गा पाएपछि खेती गरेर परिवार पाल्न सजिलो भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *