बहुवर्षे दुई योजनामा रकमान्तर

Share this post :

Facebook
Twitter
WhatsApp

हालै मात्र गण्डकी प्रदेशका दुई वटा विकास निर्माणका योजनामा बजेट रकमान्तर गरिएकाे छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले दुई बहुवर्षे याेजनामा बजेट रकमान्तर गरेकाे हाे ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अन्तर्गत चोरमारा–झयालबास–वसेनी–रुचाङरकुवा–डेढगाउँ हुदैँ तनहुँ जोड्ने सडकलाई गण्डकी प्रदेश सरकारले ४ करोड २० लाख रुपैयाँ बजेट रकमान्तर गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा १ करोड रुपैयाँ विनियोजन भएको थियो ।

‘अहिले ४ करोड २० लाख थपिएपछि यस योजनामा ५ करोड २० लाख बजेट पुग्यो’ मन्त्रालयका प्रवक्ता टिकाराम पौडेलले भने, ‘बहुवर्षे योजनाको बजेट बहुवर्षेमा नै रकमान्तर गर्नुपर्छ । बहुवर्षेबाट सालवसालीमा समेत रकमान्तर गर्न मिल्दैन ।’ यस्तै, कोरोला पोखरा त्रिवेणी मार्ग अन्तर्गत डेढगाउँ झ्यालबास सडकको लागि रातो कितावमा १३ करोड ५० लाख रुपैयाँ राखिएको थियो ।

त्यसबाट ४ करोड २० लाख रुपैयाँ रकमान्तर गरिएको पौडेलले बताएका छन् । पिएलएमविआइएसमा समेत रकमान्तर भएका योजना समेटिएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार बजेट अपुग भएका योजनामा रकमान्तर गरिएको हो ।

पौडेलका अनुसार एक बहुवर्षे योजनाबाट अर्को बहुवर्षे योजनामा नै बजेट रकमान्तर गरिएको हो । उनले बहुवर्षे योजनाबाट सालवसाली योजनामा रकमान्तर गर्न नसकिने बताए ।
‘यी योजनाको काम धमाधम भइरहेको छ । काम हुदै गर्दा बजेट अपुग हुने जस्ता योजनामा रकमान्तर गर्छौ’ उनले भने । चालु आर्थिक वर्षमा भौतिक मन्त्रालय अन्तर्गत जम्मा दुई वटा योजनामा मात्र बजेट रकमान्तरण भएको छ । गतवर्ष काम हुदाँहुदै बजेट अपुगका कारण अलपत्र परेका स्याङ्जाका ११ वटा योजनाको लागि रकमान्तर गर्न भौतिक मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाएको छ ।

भौतिक मन्त्रालयले मुस्ताङका योजनामा पनि रकमान्तर गर्ने तयारी गरेको छ । स्रोतका अनुसार योजनाका नाम भने फाइनल भइसकेको छैन् । मन्त्रालयले जनाए अनुसार कास्की, नवलपुर र तनहुँका योजना पनि समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *