अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका-१७ को संयुक्त आयोजनामा आज सम्पन्न भएको वडास्तरीय बालक्लवका पदाधिकारीलाई तालिम कार्यक्रममा बोल्ने जनप्रतिनिधी र अन्य सरोकारवालाहले सो बताएका हुन ।

कावासोती नगरपालिका-१७ का वडाअध्यक्ष छविलाल महत्तोले बालबालिकाको अधिकार संरक्षण र सम्बद्वनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरी राखेको र त्यसको प्रबद्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रम समेत सञ्चालन गरि राखेको बताए ।
उनले बालबालिकाले पनि आफ्ना हक अधिकार प्राप्ती सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमबाट सिकेका विषय सही रुपमा कार्यान्वयनको लागि अनुरोध गरे ।
वडा सदस्य गिता विकले बालबालिकाले आफ्नो हक अधिकार प्राप्तीको लागि समुहमा बसेर काम गर्नुपर्ने र सोही अनुसार नै योजनाहरु निर्माण गरेर अगाडी बढ्नको लागि र आफ्नो तर्फबाट सदैव सहयोग हुनेमा जोड दिईन् ।
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारी र अन्य बालबालिकाको क्षमता अभिबृद्धीको लागि तालिम सञ्चालन गर्दै अाएकाे आयोजक संस्थाका राधादेवी बोटेले बताइन ।
तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता आशा विकले बताइन् ।
तालिममा सहभागी मध्ये सरस्वती पराजुलीले यसरी बेला बेलामा तालिम सञ्चालन गर्ने हो भने बालबालिकाले नयाँ विषयसँगै बालमैत्री अभियान र किशोरीमैत्री बाताबरणको लागि सहयोग पुग्ने हुनाले नियमित रुपमा सञ्चालनको लागि अनुरोध गरिन् ।
तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारी र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधी गरी ४५ जनाको सहभागिता रहेको थियो ।