विरामीको गुनासो सुन्न गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा जिल्ला अस्पताल स्याङ्जा पुगेकी छन् । शुक्रबार जिल्ला अस्पताल स्याङ्जाका विरामीको गुनासो सुन्न पुगेकी मन्त्री सिम्खडा जिल्लाका अन्य स्वास्थ्य केन्द्रमा पनि पुग्नेछन् ।
डेङगुसहितका विभिन्न रोगका बिरामीको चाप बढी रहँदा बिरामीको अवस्था बुझ्न स्वास्थ्य मन्त्री सिम्खडासँग स्वास्थ्य सचिव विनोदविन्दु शर्मासहितको टोली पुगेको हो । अस्पतालमा मन्त्री सिम्खडाले हेमोडायलासीससहितका कक्षमा निरीक्षण गर्दै बिरामीको अवस्थाको बारेमा बुझेकी थिइन् । उनले अस्पतालले दिने सेवा र सुविधाबारे पनि विरामीसँग सोधपुछ गरिन् ।
मन्त्री सिम्खडाले अस्पताल व्यवस्थापन समिति, मेसु, कर्मचारीसँग अस्पतालको बारेमा चासो राखेकी छन् । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले अस्पतालमा भौतिक पुर्वाधारको समस्या रहेको बताउदै १० महिनामा मेसु पाएको बताए । अस्पतालमा दरबन्दी अनुसारका कर्मचारी नरहेको बताउदै दरबन्दीमा रहेका डाक्टर अध्ययनमा जादाको समस्या मन्त्रीसमक्ष राखे । उनले रित्त स्थानमा पनि डाक्टर खटाईदिन अनुरोध गरेका छन् ।
२५ बेडको जिल्ला अस्पतामा २५ जना चिकित्सकको दरबन्दी छ । जसमा ११ जना कर्मचारी नरहेको र दुई डाक्टर दुई नर्ससहित चार जना अध्ययनमा जादा अस्पतालमा आउने बिरामीलाई समस्या परेको गोदारले बताए । रक्क्त संचार केन्द्र, हेलिप्याडको व्यवस्थान गरिदिन आग्रह गर्दै गोदारले जिल्ला अस्पतालाई ५० बेडको बनाउने पुरानो निर्णय कार्यान्वयन गर्न पनि मन्त्रीसंग आग्रह गरेका छन् ।
मन्त्री सिम्खडाले नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार भएको बताउदै जनताको स्वास्थ्यको लागि कुनै कन्जुस्याई नगर्ने आश्वासन दिलाइन् । उपचारको लागि पोखरा लगायतका शहरमा जानुपर्ने बाध्यतको अन्त्य गर्ने बताउदै मन्त्री सिम्खडाले दरबन्दी अनुसारको जनशक्ती र आवश्यकता अनुसारको भवन बन्ने बताएकी छन् ।
प्रदेश सरकारले गर्न सक्ने काम तत्काल प्रदेशले गर्ने र बाँकी रहेका कार्य संघिय सरकारसँग समन्वय गरेर पुरा गर्ने मन्त्री सिम्खडाको भनाई थियो । अस्तालमा अब जिल्ला अस्पतालको सेवा बिहान ७ बजेबाट बेलुका ८ बजेसम्म दिने व्यवस्था गरिने मन्त्री सिम्खडाले बताइन् । यस्तै, मन्त्री सिम्खडाले जिल्ला आर्यूबेद अस्ताल, जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास कार्यालयमासमेत अवलोकन गरेकी छन् ।