बेगनास–रूपा जलविद्युत आयोजना संचालनमा ल्याइने

Share this post :

Facebook
Twitter
WhatsApp

विद्युतको माग बढ्दै गएपछि बेगनास–रूपा पम्प जलाशययुक्त जलविद्युत आयोजना आयोजनाको काम अघि बढाइने भएको छ । यो आयोजना प्रारम्भिक अध्ययनपछि थन्किएको थियो । नेपाल विद्युत् प्राधिकरणले पोखरा–३१ स्थित बेगनास तालबाट विद्युत् निकालेर पानी रूपातालमा पठाउने र रूपातालको पानीलाई पम्पबाट पुन बेगनासमा पठाउने योजनालाई अघि बढाउने भएको बताएको छ ।
साँझको ४ घण्टाको समयमा मात्र उत्पादन गर्ने गरी आयोजना बनाइने प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले बताए । आयोजना १५० मेगावाट क्षमताको हो । ‘साँझ ५ देखि ९ बजेसम्म बेगनास तालको पानीबाट विद्युत् उत्पादन गरिने र राति १२ बजेदेखि बिहान ४ बजेसम्म फेरि रूपातालबाट पानी तानेर बेगनासमा पठाइने भण्डारीले जनाएका छन् । उनले दैनिक ४ घण्टा मात्र विद्युत उत्पादन गरिने बताए ।
आयोजना निर्माणसँगै डुँगा संचालनमा असर नपर्ने भए पनि सिँचाईमा भने असर पर्न सक्ने स्थानीय कृषकको बुझाई छ । तर, स्थानीय क्षेत्रको विकास, रोजगारी, डुंगा व्यवसायमा असर नपार्ने, इको सिस्टममा नखलबलाउन र सम्भावित डुबान (रूपातालतर्फ) मा ध्यान दिन स्थानीयले आग्रह गरेका छन् । बेगनास तालमा बन्ने इन्टेकबाट पानीलाई ३.०९ किमि लामो प्रवेशमार्ग (सुरुङ) मार्फत रूपातालमा झारेर त्यहाँ बन्ने पावरहाउसबाट विद्युत् उत्पादन हुनेछ ।
रूपाताल बेगनासभन्दा ६८.२९ मिटर होचो छ । बिजुली निकाल्दा बेगनास तालमा पानीको सतह १ मिटर घट्नेछ । रूपातालमा भने ४ मिटर सतह बढ्नेछ । आयोजनाको ईआइए र डिटेल डिजाइन भने गर्न बाँकी रहेको भण्डारीले बताए । प्राधिकरणले ताल बिगार्ने नभई अधिकतम फाइदा लिने योजना रहेको जनाएको छ । प्राधिकरणका निर्देशक नसीममान प्रधानले हालसम्मको प्राविधिक अध्ययनबारे जानकारी गराउँदै आयोजना निर्माणमा २० अर्ब लाग्ने बताए ।
दुवै तालमा यसअघि नै बाँध भएकाले अन्यत्रजस्तो जलाशय बनाउँदा खर्च बढी नलाग्ने प्राधिकरणले जनाएको छ । आयोजनाबाट वार्षिक २०६.१४ मेगावाट उत्पादन हुने तर २८५.१३ मेगावाट वार्षिक विद्युत् खपत हुनेछ ।
रूपातालमा गएको पानीलाई तानेर फेरि बेगनासमा पुर्‍याउनुपर्ने भएकाले विद्युत् खपत भने बढ्नेछ । जग्गा अधिग्रहणमा पनि ठूलो समस्या छैन । पर्यटकीय आकर्षण पनि थपिनेछ । वातावरणीय असर पनि ठूलो नपर्ने र माछालगायत जलचर प्राणीको अवस्थाबारे पनि प्रारम्भिक अध्ययन गरिएको प्राधिकरणले जनाएको छ । दुवै तालको अहिलेको प्राकृतिक अवस्था, सुन्दरता र जैविक अवस्थितिलाई पनि कुनै प्रभाव नपारिने प्राधिकरणले बताएको छ ।
आयोजनाले पहिलो पम्प जलाशययुक्त आयोजनाका रूपमा २०७४ कात्तिक २३ मा सर्वेक्षण अनुमति पाएको थियो । त्यसपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा प्रारम्भिक अध्ययन गरेको थियो । आयोजना नवीकरणका लागि २०७८ कात्तिक २० मा आवेदन दिइएको र अनुमति पाउनसाथ बाँकी सर्वेक्षण तथा अध्ययन अनुसन्धान अघि बढाइने प्राधिकरणले जनाएको छ ।
आयोजना पोखरामा पर्यटकीय ब्रान्ड हुनेमा स्थानीय विश्वस्त छन् । प्राधिकरणले अहिले ३६४ मेगावाट विद्युत् भारत निकासी गरिरहेको छ । तर, डिसेम्बरदेखि मेसम्म भने ७ सयदेखि ८ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेकाले पम्प र जलाशययुक्त आयोजनाको आवश्यकता भएको भण्डारीले बताए । धेरै आयोजना नदीको बहाव (रन अफ दि रिभर) को आधारमा भएकाले हिउँदमा नदी खोला सुकेर एक तिहाइ मात्र उत्पादन हुने भएकाले विद्युत् अभाव हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अब जलाशययुक्त आयोजनामा जोड दिनुको विकल्प छैन । नेपालमा अहिले जलाशययुक्त आयोजना कुलेखानी १, २ र ३ मात्रै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *