भदौमै पाके उन्सु जातको सुन्तला

Share this post :

Facebook
Twitter
WhatsApp

यतिबेला स्याङ्जामा उन्सु जातको सुन्तला पाकेका छन् । सुन्तला पाकेपछि किसान विक्रीका लागि तयारी गरिएको बताउँछन् । पुतलीबजार नगरपालिका–११ मायाटारीका बोधराज अर्यालले एक सय ५० रोपनीमा लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो ।

वार्षिक १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका अर्यालकोमा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उनले कृषि व्यवसाय सञ्चालन गरेका छन् । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् ।
उन्सु जातको सुन्तला मात्र एक सय बोट छन् । अहिले ४० बोटले उत्पादन दिएको उनले बताए ।

उनका अनुसार ६० बोट उत्पादनका लागि तयारी छन् । उन्सु जातका सुन्तला वेमौसमी हुन् । बेमौसमीमा फल्ने भएकाले यसको मूल्य पनि लोकल सुन्तला भन्दा दोव्वर हुने अर्याल बताउँछन् । कृषक अर्यालले उन्सु जातका सुन्तलाले एक÷दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताएका छन् । अर्यालले कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए । अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तला व्यावसायिक खेती सुरु गरेका थिए । उनले फार्ममा उत्पादन हुने वस्तु १६ वर्षदेखी जापान निर्यात गर्दै आएका छन् ।

कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताए । पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाएको अर्यालले बताए । अर्याललाई श्रीमति र छोराले सहयोग गर्छन् । उनले एक सय भन्दा बढी कृषि सम्बन्धि तालिम लिएका छन् । कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताए । उनले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *