पोखरामा करिव ७ सय भारतीय धार्मिक पर्यटक आएपछि लेकसाइड क्षेत्र भरिभराउ छ । शनिवार विहान पोखराको लेकसाइड गुन्जमान थियो । गाजागाँजा र झाँक्रीसहित निस्किएको भारतीय पर्यटकको लस्करले लेकसाइडमा सवारी साधनमात्र होइन् पैदलयात्रु पनि ओहोरदोहोर गर्न पाएनन् ।
लेकसाइडको स्ट्रिट नम्बर १७ मझेरी रिसोर्टबाट निस्किएको लस्कर हल्लनचोक हुँदै तालबराही मन्दिर पुगेको थियो । भारतीय धार्मिक पर्यटकको लर्कोले फेवाताल किनार र लेकसाइड भरिभराउ छ । शुक्रबार पोखरा आएका उनीहरुले शनिबार विहानै अन्नपूर्ण केवलकार चढेर सराङकोट पुगे । त्यसपछि फेवातालमा डुँगा सयर गर्दै तालबराही मन्दिरको दर्शन गरेका उनीहरु साँझमा बाराही मन्दिरको आरति हेर्नेछन् ।
६ सय १९ योगीसहित करिव ७ सयको टोली पहिलो पटक शुक्रबार पोखरा आएको हो । पर्यटकीय सिजनमा भारतीय पर्यटक बढी आउने भए पनि यत्तिका संख्यामा पहिलोपटक आएको दावी मझेरी रिर्सोटका अध्यक्ष (व्यावसायी) अर्जुन खनालको छ ।
गुजरातबाट निलकण्ठवर्णी स्मृतियात्रामा एकैसाथ धार्मिक पर्यटक नेपाल आएका हुन् । उनीहरु मंगलबार काठमाडौं आइपुगेका थिए । हवाइ र सडकमार्ग हुँदै काठमाडौं आएका ति पर्यटकले काठमाडौंको पशुपतिनाथ, ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुरको दरबार स्क्वायर लगायतका मठमन्दिरसंगै ऐतिहासिक गन्तव्यमा घुमघाम गरे ।
आइतबार मात्रै मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको भ्रमण व्यवस्थापन गरिरहेको नेबिरा होलिडेजका प्रबन्धक राजु अधिकारीले बताए । उनकानुसार करिव एक सय स्कार्पियो मुस्ताङ जानेछ । केही हवाइ उडानमार्फत जानेछन् भने, कोही बसमा जाने कार्यक्रम रहेको उनले बताए ।
पोखरा फर्किएसंगै २ दिन घुमघाम गर्नेछन् । पुम्दीकोट, विश्वशान्ति स्तुप, पातले छाँगो, गुप्तेश्वर महादेव मन्दिर, विन्ध्यावासिनी मन्दिर, सेती गर्ज लगायतका गन्तव्य पुयाउने तालिका छ । ‘पोखराको घुमघामपछि भैरहवा हुँदै भारत फर्कनुहुनेछ’, नेबिराका प्रबन्धक अधिकारीले भने । एकसाथ भारतीय पर्यटक आउनुलाई मास टुरिजमको सुरुवात भएको व्यावसायी बताउछन् । ‘भुकम्पपछि कोरोनाले व्यावसायीलाई थला पारेको थियो’ अर्जुन खनाल भन्छन्, ‘सुनसान पोखराको पर्यटनमा धार्मिक पर्यटकले आशा दिलाएका छन् । उहा“हरुलाई पोखरा ल्याउनको लागि चार महिनादेखी तयारी गरेका हौ ।’
स्वामी जितेन्द्रिय प्रियदासजीले नेपाल र भारतको सम्बन्ध दाजुभाई, काका–भतिजको जस्तो रहेको बताए । उनले मुक्तिनाथसम्मको तीर्थ यात्रा रहेको सुनाए । उनले भारतबाट आउने धार्मिक पर्यटक मुक्तिनाथकै कारण आउने उनको भनाई छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि मणिनगर श्री स्वामिनारायण गादी संस्थानकै सदस्य रहेको बताउदै उनले मोदीले पनि मुक्तिनाथ दर्शन गरिसकेको बताए ।
भारतीय स्वामीहरु भ्रमणमा आएकाले धार्मिक पर्यटक बढ्ने अपेक्षा खनालको छ । ‘यो संख्याले सुनसान पोखरालाई जगाएको छ’, उनले थपे, ‘धार्मिक पर्यटनबाट आर्थिक गतिविधि कसरी बढाउन सकिन्छ ? नेपालको आर्थिक अवस्थालाई कसरी उकास्न सकिन्छ भनेर गरिएको अभ्यास हो ।’ यो समूहको भ्रमणले स्वामीनारायणप्रति आस्था राख्ने भारतीय धार्मिक पर्यटक नेपाल भित्र्याउन सहज भएको उनले बताए ।
पछिल्लोसमय पोखरा र मुक्तिनाथ भ्रमणमा आउने पर्यटकको संख्या बढ्दो छ । बैशाख जेठताका अफसिजनको बेला पनि गर्मी छल्न आउने पर्यटकको लर्कोले पोखरा चहलपहल थियो । सिजनको सुरुवातमा तेस्रो मुलुकको पर्यटक छिटफुट आउँदा छिमेकबाट भारतीय पर्यटक एकैपटक ७ सय बढी आएपछि पर्यटन व्यवसायीलाई आशावादी बनाएको मझेरीका अर्का व्यावसायी दुर्गा पाण्डे बताउँछन् ।
‘अधिकांश भारतीय पर्यटक सडकमार्ग हुँदै आउने हुन्’ पाण्डे भन्छन्, ‘पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डको स्तरोन्नतीको काममा भएको ढिलाईले भने नकरात्मक सन्देश फैलने त्रास छ ।’ उनले सिद्धार्थ राजमार्गको पनि अवस्था उस्तै रहेको बताए । भैरहवा हुँदै सिदार्थ राजमार्गबाट भारतीय पर्यटक बढी आउने उनले बताएका छन् । विश्व हिन्दु महासंघका अध्यक्ष शंकर खरालले पोखरामा वार्षिक ५० लाख धार्मिक पर्यटक ल्याउन समस्या नरहेको बताए ।