भेरी–बबईको निर्माण प्रगति ६२ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय गौरवको आयाेजनामध्ये एक हाे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना । कोरोनाका कारण दुई वर्ष आयोजनाको काम प्रभावित भयाे । जसकार कारण आयाेजनाकाे भाैतिक प्रगति हालसम्म ६२ प्रतिशत पुगेकाे छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित आयोजनाको काम भइरहेको आयाेजनाले बताएकाे छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लोकनाथ सुवेदीका अनुसार बाँकी ३८ प्रतिशत काम तीन वर्षभित्र सक्ने गरी भइरहेको छ । गत वर्षको बाढीले नदीमा बाँध निर्माणमा समस्या भएकाले पनि आयोजनाको काममा ढिलाइ भएको उनले बताए ।

आयोजनामा सिभिलतर्फ बाँध र विद्युत् गृह निर्माण भइरहेको छ । जसमा हालसम्म ४५ प्रतिशत काम सकिएको छ । हाइड्रोमेकानिकलतर्फ २५ र इलेक्ट्रोमेकानिकलतर्फ भने १२ प्रतिशत काम भएको छ । २०७१ चैत १९ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको शिलान्यास गरेका थिए । ३६ अर्ब ८० करोड रुपैयाँ लागतमा निर्माण सकिने अनुमान गरिएको आयोजनामा हालसम्म ५४ प्रतिशत आर्थिक प्रगति भएको छ ।

आयोजनाबाट ४६ मेगावाट विद्युत् उत्पादन गर्ने र लुम्बिनी, बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने उद्देश्य छ । आयोजना अघि बढेको छ । तीन वर्षभित्र भेरीको पानी बबईमा खस्ने डिभिजनल इन्जिनियर सुवेदीले जनाए । त्यसपछि विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारणमा जोड्ने योजना रहेको उनको भनाइ छ । १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज (बाँध) बनाइने छ । आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने छ । यस क्षेत्रमा आयोजनाले प्रभावित स्थानीयलाई मुआब्जा वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *