‘हामी रातदिनै जोखिम मोलेर बस्नुपर्छ नेताहरु अहिले पनि झुटो आस देखाउदै भोट माग्न आए’ यो भनाई पोखरा महानगरपालिका–१७ की ५० वर्षिया दमन्ती मगरको हो । सोही वडाको फुस्रेखोला किनार छेउमा ढुंगा, माटाले निर्मित टिनको छाना भएका घर लटरम्मै देख्न सकिन्छ । उनीहरुलाई सधै एउटै पीडा छ, ‘जोखिम बस्ती जोगाउने’ । सुकुम्बासी मात्र होइन हुकुमबासीको पनि उत्तिकै बसोबास छ, यहाँ ।
उनले नेता प्रत्येक चुनावको बेला घरमा आउने र झुटा आश्वासन मात्र देखाउने गरेको बताइन् । ‘हाम्रा दुःख जस्ताका तस्तै छन्’ उनले भनिन, ‘समस्या पर्दा सहयोग गर्ने कोही होइनन् । हाम्रो बस्ती नै जोखिममा छ । बस्ती जोगाउ भनेर कसैले सोच्दैनन् अहिले हामी गर्छौ नी भन्दै तछाडमछाड गर्दै भोट माग्न घर आउँछन् ।’ उनले जोखिम बस्ती जसले व्यवस्थापन गर्छ उसैलाई मतदान गर्ने बताइन् । ‘अव हामीले पनि वाचा गर्नुपर्छ’ उनले थपिन, ‘बस्ती जोगाउनेलाई नै हाम्रो भोट ।’ उनका अनुसार यहाँ ३२ घरधुरी छन् ।
कोचेप्रो, साघुँरो खोला, झुण्डिएको दोविल्ला बस्ती । हिउँदका दिन सुखदुःख विते पनि बर्खामा यहाँका बासिन्दा ढुक्कले रात विताउन पाउदैनन् । १७ र ३३ दुई वडा जोड्ने मोटरेबलपुल पनि उत्तिकै जोखिम छ । स्थानीयका अनुसार पुल छेउमा पटकपटक मर्मत गरिन्छ । खोलामा बाँध लगाउने भनेर सुरु गरिएको भए पनि काम ज्युँकात्युँ रहेको स्थानीय कमला मगल बताउँछिन् । उनले जोखिम बस्ती जोगाउनको लागि भोट माग्न आउने सवै पार्टीका उम्मेदवारलाई बस्ती जोगाउन अपिल गरिएको बताइन् । वडाध्यक्षका उम्मेदवारलाई पनि यहा“का स्थानीयले लिखित पत्र बुझाएका छन् । नेपाल खानेपानी संस्थानद्धारा वितरित सरकारी मातहतको धारा बस्तीको सम्पूर्ण घरमा जडान गर्ने, बस्तीको बाटो ढलानको काम अघि बढाई छिटो छरितो कार्यान्वयन गर्ने गरि टोल विकास समितिले ७ बुँदे माग राखेको छ ।
यस्तै, यस क्षेत्रमा बसोबास गर्ने अधिकाशं व्यक्ति पहिलेदेखिकै बासिन्दा रहेकाले दर्ता गर्न छुट भएको भनि निस्सा प्रमाण प्रदान गरि काम कारबाही अघि बढाउन पनि माग गरिएको छ भने, विकास पूर्वाधारका योजना अन्य वडामा जस्तै समानरुपले प्रदान गर्ने, बस्ती नजिक रहेको सार्वजानिक स्थल संरक्षण गर्न र भावी खतराबाट मुक्त रहनको लागि त्यस क्षेत्रमा आवश्यक सामाग्री तथा अपुग ग्याविन तारजाली ढुंगा उपलब्ध गराउन पनि माग गरेको छ । निर्वाचित जनप्रतिनिधिले पछिल्ला दिनमा आइपर्ने समस्यालाई सहजीकरण गर्न र जीर्ण अवस्थामा रहेका भवन घर मर्मत संभार तथा शौचालय निर्माण गर्न पनि स्थानीयले माग राखेका छन् । ‘अहिले भोली नै सम्बोधन गर्छौ जस्तो गर्छन नेता, चुनाव जितेपछि फर्किएर हेर्दैनन्’ स्थानीय फनि मगर बताउँछन्, ‘तर, पनि हामीले आफ्ना समस्या सवैलाई बताएका छौ । बर्खा लागेको छ मनमा डर उस्तै छ ।’ पोखरा महानगरको १७ नम्बर वडा पोखराको मुख्य बजार रहेको क्षेत्र हो । पर्यटकीय शहर भए पनि यही वडाका कतिपय बस्ती पिछडिएको गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार काँग्रेसका देवराज आचार्यले बताए । उनले पार्टीबाट उम्मेदवार बनेर निर्वाचित भए पनि सार्वजानिक पदमा पुगेपछि सवैको साझा अध्यक्ष हुने भएकाले सवैप्रति समान व्यवहार गरिने प्रतिबद्धता जनाएका छन् । यस्तै, एमालेको तर्फबाट वडाध्यक्ष उठेकी राधिका शाहीले आफू निर्वाचित भएसंगै जोखिम बस्तीको समस्या समाधानतर्फ लागि पर्ने बताइन् ।
