मनाङमा बाढी विद्यालयबाट खोला बग्यो

Share this post :

Facebook
Twitter
WhatsApp

बाढीपहिराले मनाङ भौतिक संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ । यसका कारण बालबालिका शिक्षाको अधिकारबाट पनि वञ्चित भएका छन् । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङका २८ विद्यालयमध्ये ४ विद्यालयमा क्षति पुगेको छ ।
जिल्लाका चार माविमा मनाङ ङिस्याङ गाउँपालिका–६ मनाङ गाउँस्थित अन्नपूर्ण मावि मात्रै बाढीबाट जोगिएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायणप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ३ माध्यमिक र एक आधारभूत विद्यालयमा धेरै क्षति पुगेको छ । यी विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेको उनले बताए ।
जिल्लाका नमूना विद्यालयका रुपमा रहेको लोकप्रिय मावि र प्रकाश ज्योति माविको आधा भाग बाढीले बगाएको छ, भने पठनपाठन गर्न सकिने अवस्था छैन् ।

नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माविमा हालसम्म पनि मस्र्याङ्दी नदी बगिरहेको छ । ताल गाउँको बस्तीसँगै विद्यालय पनि पूर्ण रुपमा जोखिममा छ । चारवटा मात्रै मावि रहेको मनाङका विद्यालयमा खोला पसेपछि विद्यार्थीको भविष्य अनिश्चित बनेको शिक्षाप्रमुख रेग्मीले बताए । ‘कोरोनासँगै बाढीपहिराको जोखिममा रहेका बालबालिकाको पढाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग बारम्बार समन्वय गरिरहका छौँ, बस्ती नै जोखिम रहेको र स्थानान्तरण गर्नुपर्ने भएकाले विद्यालयको भौतिक संरचना कहाँ बनाउने यो विषयमा छलफलकै प्रक्रियामा रहेको छ’ उनले भने । विद्यालयमा अझै पनि नदी बगिरहेको छ । अब बस्ती जता स्थानान्तरण हुन्छ त्यतै बालबालिकाको पठनपाठन गर्ने स्थान पनि निश्चित हुने अपेक्षा गरिएको भानु माविका प्रधानाध्यापक श्यामकृष्ण पन्तले जानकारी दिए । ‘विद्यालयको भवन हुँदा पठनपाठन रोकियो, कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम भएर पढाइ हुने बेला विद्यालय भवन नै बाढीले बगायो, अहिले विद्यालयको भवनमा खोला बगिरहेको छ, बालबालिकाको भविष्य र पठनपाठन के होला भन्न सक्ने अवस्था नै छैन’ पन्तले भने ।
त्यस्तै नासों गाउँपालिका–६ थोंचेस्थित डाँडाको टाकुरामा रहेको प्रकाशज्योति माविलाई एकतर्फ मस्याङ्दी नदी र अर्कोतर्फ दूध खोलाले क्षति पु¥याएको छ । १२ कक्षासम्म पढाइ हुने यस विद्यालयमा पठनपाठनका लागि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुलमार्फत जानुपर्ने भए पनि बाढीले पुल बगाएपछि विद्यालयसम्म पुग्नसमेत सकस भएको विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले बताए ।

‘छात्रावासमा बालबालिका राख्न सक्ने अवस्था नै छैन’ उनले भने, ‘पहिराको जोखिममा कति बेला परिन्छ विद्यालय ढुक्क हुनसक्ने समय छैन । यस्तो अवस्थामा बालबालिकाको भविष्य निर्धारणका लागि सम्बन्धित निकायले समयमै सचेत हुनुपर्छ । शिक्षक र विद्यार्थी बस्ने स्थान नै सुरक्षित छैन, कहाँ राखेर पठनपाठन गराउने भन्ने हामी पनि चिन्तित छौँ । विद्यार्थी र शिक्षक नै विद्यालयसम्म पुग्न सक्ने बाटो छैन, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घसँग समन्वय गरी समाधान गर्ने प्रयत्नमा छौँ ।’
सदरमुकामस्थित चामे गाउँपालिका–४ स्थित नमूना विद्यालय लोकप्रिय माविको मस्र्याङ्दी नदीमा आएको बाढीले पूर्ण रुपमा क्षति पुगेको छ । छात्रावास सहितको विद्यालयको एक चौथाइ भाग मात्रै बाँकी रहेको छ । कम भाग मात्रै बाँकी रहेको विद्यालयमा राखेर विद्यार्थीको पठनपाठन अगाडि बढाउन सक्ने अवस्था छैन । ‘बाढीको कटानले विद्यालय भवनको एक चौथाइ बाँकी छ, शैक्षिकसत्रको अन्तिम अन्तिमतिर आइसकेका छौँ, कोरोना कहरले शिक्षा क्षेत्रमा धेरै नोक्सान पु¥याएकामा अहिले बाढीपहिराले पनि जोखिम थपिदियो ।

विद्यार्थीलाई कोरोनाको खोप दिएर पठनपाठन थाल्न सरकारबाट नै आदेश भएमा कहाँ राखेर कक्षा सञ्चालन गर्ने भन्ने चिन्ताको विषय बनेको छ’ लोकप्रिय माविका प्रधानाध्यापक कृष्णदास कोइरालाले भने । कोरोनाले थलिएको मनाङको शैक्षिक क्षेत्रमा बाढीले झन् थिलथिलो बनाएको उनले बताए । बाढीपहिराका साथै कोरोना कहर न्यूनीकरण हुँदै जाँदा बालबालिकाको भविष्य निर्माणका लागि पठनपाठन सञ्चालन गर्नुपर्ने हुन्छ तर विद्यालयका भवन नै बाढीपहिराले बगाएपछि मनाङका धेरै विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनेछन् ।
वैकल्पिक अध्ययन केन्द्रको खोजी
मनाङको शैक्षिकसत्र सकिने बेलामा सरकारले पठनपाठन गराउन आदेश दिने सम्भावना बढेको छ । यस्तो अवस्थामा मनाङका बालबालिकाले भने पठनपाठनका लागि नै वैकल्पिक शिक्षालयको खोजी गर्न बाध्य भएका छन् । यहाँका विद्यालयको भौतिक संरचना बाढीपहिराले बगाएपछि विद्यार्थीहरुले छिमेकी जिल्लाका साथै राजधानी काठमाडौँ र प्रदेश राजधानी पोखरा छनौट गर्नुपर्ने भएको छ । मध्यम वर्गका विद्यार्थीहरुलाई जिल्लाबाहिर पठनपाठनका लागि केही सहज हुने भए पनि विपन्न वर्गका विद्यार्थीलाई सकस भएको स्थानीय अभिभावक बताउँछन् ।
‘बालबालिकालाई बाहिरी जिल्लामा राखेर पढाउन धेरै समस्या झेल्नुपर्छ’ अभिभावक जालमाया गुरुङ भन्छिन, ‘विद्यालय खोज्नुपर्ने अवस्था हुन्छ । महंगा विद्यालयमा भर्ना लिने सम्भावना पनि कम छ । छात्रावासमा राखेर पढाउन सकिँदैन । भाडामा राखेर पढाउँदा बालबालिकालाई खाना, खाजा खुवाउने भन्ने चिन्ता बढेको छ । खोई कसरी बालबालिकाको भविष्य बनाउने भन्ने चिन्ताले सताउँछ । बाढीपहिराले धेरै समस्या थपिएको छ ।’
भेँडाच्याङ्ग्रा पाल्दै घरमै बनेको खाना खुवाएर छोराछोरीको पठनपाठन अगाडि बढाउन सजिलो भएको थियो । अब कता पढाउने ? कहाँ राख्ने भन्ने कुरामात्रै मनमा खेलिरहने उनले बताइन् । वैकल्पिक अध्ययन केन्द्रका लागि सरकारसँगै सम्बन्धित निकायले समयमा नै योजना निर्धारण गर्न सके मनाङवासीलाई सहज हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *