अन्तर्राष्ट्रिय जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरामा जारी दोस्रो मनुश्री–भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टाछुट्टै उमेर समुहको फाइनल खेल जित्दै उनले दोहोरो पदक जितेकी हुन् ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स सिंगल्स यू–१२ तर्फ शाल्भी शेरचनलाई ६–१ र ६–१ले जित्दै स्वर्ण पदक हातपारिन । उनले नगद ८ हजारका साथमा स्वर्ण पदक जितिन् भने उपविजेता बन्न सफल शाल्भीले नगद ५ हजार प्राप्त गरेकी छन् ।
त्यस्तै सिंगल्स गल्र्स यू–१४ को फाइनलमा शिभालीले श्वस्तिका विष्टलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । पहिलो सेट ६–१ र दोश्रो सेट ६–२ ले पराजित गरेकी हुन् । शिभालीले उपाधि सहित नगद १२ हजार र उपविजेता रहेकी श्वस्तिाकाले ६ हजारका साथमा मेडल प्राप्त गर्न सफल भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जनाएका छन् ।
त्यस्तै यू–१६ गल्र्सतर्फ सिंगल्समा सुनिरा थापाले आध्या पौडेललाई वाक ओभर दिएकी छन् । त्यस्तै श्वस्तिका विष्टले सोही उमेर समुहमा प्रशंसा मोक्तानलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी छन् । बुधबार नै सम्पन्न यू–१४ ब्वाइज सिंगल्सतर्फ व्रिजेश अर्यालले दर्शिल श्रेष्ठलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । उनले वोरिश अधिकारी संग विहिबार हुने फाइनलमा भेट पक्का गरेका छन् । बोरिशले सृजन भट्टराईलाई सेमीफाइनमाल ६–१, ६–२ ले पराजित गरेका थिए ।
यू–१६ ब्वाइज सिंगल्सतर्फ आयुष्मान घलेले बोरिश अधिकारीलाई ६–१, ६–३ ले पराजित गर्दा ब्वाइज ओपन डबल्सतर्फ आयुुष्मान र राजविर प्रधानको जोडीले शास्वत भट्टराई र स्पान्दन उदासको जोडीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे । कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीको सहभागिता रहेको प्रतियोगितामा गल्र्सतर्फ १५ र ब्वाइजतर्फ २२ खेलाडीको सहभागिता रहेका छन् ।
प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गर्ल्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा भइरहेको छ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गर्ने छन् भने यू–१२ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले जनही नगद ८ हजार तथा उपबिजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्ने प्रतियोगिताकी संयोजक प्रिती बरालले जानकारी दिइन् ।
त्यस्तै यू–१४ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद १२ हजार, उपबिजेताले समान जनही नगद ६ हजारसहित मेडल प्राप्त गर्नेछन् । यू–१६ ब्वाईज तथा गल्र्स सिंगल्स बिजेताले समान जनही नगद १५ हजार उपबिजेताले समान जनही नगद ७ हजार ५ सय तथा ब्वाईज तथा गल्र्स ओपन डबल्सतर्फ बिजेताले समान जनही नगद १५ हजार उपबिजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल प्राप्त गर्ने बरालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *