गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक महत)को गाडी खोसिएकोप्रति आपत्ति जनाएका छन् । मन्त्रिपरिषद्को वैठकबाट नियुक्त गरिएका व्यक्तिको गाडी खोस्नु आफूहरुको लागि सहिय नहुने भन्दै उनले आपत्ति जनाएका हुन् ।
अधिकारीले महतको गाडी खोसिएको विषयमा कृषि तथा भूमि व्यवस्था मन्त्री र सोही मन्त्रालयका सचिवले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन् । अधिकारी मुख्यमन्त्री हुदाँ लामोसमयदेखी रिक्त रहेको पद प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा महतलाई नियुुक्त गरेका थिए । कार्यालयसमेत नरहेको बोर्डमा कार्यकर्ता व्यवस्थापन गरेको भन्दै अधिकारीको आलोचनासमेत भएको थियो ।
जंगिदै खगराजले भने, ‘बोर्डका उपाध्यक्षको गाडी किन खोसिएको ? यो सहिय हुने छैन् । उपाध्यक्षको गाडी खोस्ने त्यो पनि पीएले । अझ स्वकीय तिरको ।’ नवलपुरका महत गत फागुन ११ गते बोर्डको उपाध्यक्ष नियुक्त भएका थिए । बोर्डको कार्यालय, बोर्डको अधिकारी, बजेट नभएको भए पनि गाडी र तलव सुविधा भने लिइरहेको थिए । अहिले कृषिमन्त्री नवलपुरका महेन्द्रध्वज जिसी छन् । उनले गत असोजमा नै गाडी खोसेका थिए । गाडीको चालक भने अहिले स्वास्थ्य मन्त्रालयको गाडी चलाउँछन् । खगराज सोही विषयलाई लिएर अहिले पनि रुष्ट देखिएका हुन् ।
मन्त्रालयका निमित्त सचिव तथा भूमि व्यवस्था तथा भूमिस्रोत नक्सांकन महाशाखा प्रमुख गंगालाल पोखरेलले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।