मन्त्रीसँग सेवाग्राहीका गुनासैगुनासा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली बुधबार विहान यातायात व्यवस्था कार्यालय पोखरामा छड्के अनुगमनमा पुगे ।

यातायात कार्यालयबाट दिइने सेवा चेकजाँचका लागि मन्त्री जुग्जाली सेवाग्राहीकोरुपमा कार्यालय पुगेका थिए । सोही क्रममा सेवाग्राहीसंगै लाइनमा बस्न पुगेका मन्त्रीले सेवाग्राहीसंग समस्या बुझेका थिए ।

तनहुँको भानु नगरपालिका–६ बाट चालक अनुमति पत्र (लाइसेन्स) नवीकरणको लागि आएका सेवाग्राही रामहरी भट्टराईले मन्त्रीसमक्ष यातायात कार्यालय अव्यवस्थित रहेकोले सेवा प्रवाह चुस्त नभएको गुनासो पोखे । सानो कामको लागि पनि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता रहेको बताउदै उनले भने, ‘मन्त्रीज्यू कार्यालयमा सेवाग्राहीको लागि खानेपानी पनि छैन् । झरीमा रुझ्नुपर्ने बाध्यता छ ।’

उनले सानो कामले पनि दिन कार्यालयमा नै विताउनुपर्ने भएकाले खानेपानी, शौचालयको व्यवस्था गर्नुपर्ने बताए । अर्का सेवाग्राही अर्जुन ढकालले कार्यालयमा टोकन सिस्टम भए पनि अव्यवस्थित भएको गुनासो राखे । ‘लाइन बसेको छ पालो आउदै नआउने’ उनले भने, ‘टोकन सिस्टम व्यवस्थित भयो भने लाइन नबस्दा पनि हुन्छ । आफ्नो पालो आएपछि सेवा लिन सकिन्छ ।’

अनुगमनको क्रममा खानेपानीको समस्या, शौचालयमा पानीको समस्या, अव्यवस्थित सेवा प्रवाह, आफ्नै साधनले पनि ट्रायल दिनको लागि समस्या, ट्रायल सेन्टरमा नीजि कम्पनीको हस्तक्षेप, ५ वर्ष कटिसकेका पुराना बाईक तथा स्कुटरबाट ट्रायल दिनुपर्ने बाध्यता, अव्यवस्थित टोकन व्यवस्था लगायतका विषयमा सेवाग्राहीले मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री जुग्जालीले सेवाग्राहीले उठाएका समस्यालाई पहिलो प्राथमिकतामा राखेर यातायात क्षेत्रको सुधारको काम सुरूवात गरिने बताएका छन् । उनले भने, ‘यातायात कार्यालय बढी समस्या आउने ठाउँ हो । बढी भीडभाड हुने हुँदा यहाँको सेवा प्रवाहमा जहिल्यै प्रश्न उठ्छ । जनताको सेवा बुझौ भनेर छड्के अनुगमन गरेको हुँ । अनुगमन गर्दा सेवाग्राहीका धेरै समस्या आएका छन् ।

समाधानका लागि मन्त्रालयबाट आजैदेखि सहजीकरणको प्रकृया थालनी गर्छाै ।’ उनले कुनै नियम कानुन र बजेटका कारण सेवा प्रवाहमा समस्या भए तत्काल समाधानका लागि पहल गरिने बताए । मन्त्रालयका उपसचिव एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेललाई यातायातका समस्यालाई बुदाँगतरुपमा फाइल उठाउन मन्त्री जुग्जालीले निर्देशन दिएका थिए ।

उनले कार्यालयबाट दिइने कतिपय सेवा जनतासमक्ष जानकारी नहुँदा पनि सेवाग्राहीले समस्या भोग्नुपरेको बताए । ‘आफ्नै मोटरसाइकल र स्कुटरबाट ट्रायल दिन सकिन्छ’ मन्त्री जुग्जालीले भने, ‘कार्यालयमा एउटा फर्म भर्नुपर्छ । फारमको रकम हामी लिदैनौ । बीलबुक र बीमाको कागजात भए आफ्नै साधनले ट्रायल दिन सकिन्छ ।’ यस्ता सेवासुविधालाई पनि कार्यालयले बुझाउन जरुरी रहेको उनले बताए । कार्यालय प्रमुख जितेन्द्रजंग केसीले सेवाग्राहीबाट उठेका गुनासालाई सम्बोधन गरिने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *