आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन् । मन्त्रीहरु चुनावी कार्यक्रममा व्यस्त भएपछि यतिबेला प्रदेशका मन्त्रालय सुनसान देखिएका छन् । यसो त, उम्मेदवार बनेका मन्त्री मात्र होइन, उम्मेदवार नै नभएका मन्त्री पनि चुनावमा खटिदा छन् ।
मन्त्री मन्त्रालय नजाने भएपछि मन्त्रालयमा आउने चाप पनि यत्तिकै घट्ने कर्मचारी बताउँछन् । आर्थिक वर्ष सकिएपछि साउनमा जस्तै अहिले मन्त्रालय सुनसान भएको छन् । अर्थमन्त्री रामजीप्रसाद बरालका स्वकीय सचिव दीननाथ बरालले आफू पनि दशैपछि एक÷दुई पटक मात्र मन्त्रालय गएको बताउँछन् । ‘चुनावी काममा नै व्यस्त भइयो’ उनले भने, ‘मन्त्रीज्यू नै उम्मेदवार भएपछि चुनावमा नै खटिनुपर्यो । मन्त्रालयमा खासै काम पनि नहुने आउने कुरै भएन ।’
अर्थमन्त्री बराल कास्की क्षेत्र नम्बर ३ को उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका बराल माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । उनी एमालेका दामोदर वैरागीसँग मुख्य प्रतिस्पर्धा गर्दैछन् । यस्तै, कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा पनि प्रदेशसभामा उम्मेदवार छन् । कास्की २ को २ मा उम्मेदवार बनेपछि उनको मन्त्रालय पनि सुनसान छ । मन्त्री चुनावी कार्यक्रममा नै व्यस्त भएपछि उनको सचिवालय पनि सुनसान छ । स्वकीय सचिव सूर्य पौडेलका अनुसार सचिवालयको ढोका खोल्ने मात्र काम भएको छ । ‘मन्त्री ज्यूको चुनावी प्रचारप्रसार कार्यक्रमको लागि छुट्टै सचिवालय खोलिएको छ’ उनले भने, ‘भेटघाटको काम यही सचिवालयमा हुन्छ । मन्त्रालयमा खासै काम पनि नहुने भएकाले जान आउन कम भएको हो ।’ उनले उम्मेदवार भएपछि घरदैलो कार्यक्रमा नै व्यस्त हुनुपर्ने बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय छन् । ती सवै मन्त्रालय सुनसान देखिन्छन् ।
मुख्यमन्त्री चुनावी उम्मेदवार बनेका छैनन् तर, पनि उनी पार्टीको काममा बढी व्यस्त छन् । सत्तारुढ गठबन्धनलाई सहयोग गर्ने उदेश्यले उनी बढी आफ्नै निर्वाचन क्षेत्र (गृह जिल्ला)मा व्यस्त भएका हुन् । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी पनि गृह जिल्ला लमजुङका चुनावी कार्यक्रममा बढी देखिएकी छन् । युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ पनि मनाङबाट पुनः निर्विरोध प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ उम्मेदवार नभए पनि चुनावी कार्यक्रममा बढी व्यस्त छन् । गृह जिल्ला स्याङ्जाका चुनावी कार्यक्रममा बढी व्यस्त भएपछि यता, मन्त्रालय भने सुनसान छ । कर्मचारीले आफ्नो नियमित काम भने गरिरहेको बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव घनश्याम पौडेलले कर्मचारीले गर्ने नियमित काम भने भइरहेको बताए । उनले यतिबेला सेवाग्राही पनि आउने समय नभएको र हिन्दु धर्मालम्बीका ठूला पर्व पनि भएकाले मन्त्रालय सुनसान भएको बताए । ‘सार्वजानिक विदा पनि क्रमशः यतिबेलै । यसले गर्दा पनि मन्त्रालय बढी सुनसान देखिएका हुन्’ उनले भने । यता, वन तथा वातावरणमन्त्री दीपक थापा पनि उम्मेदवार होइनन् । तर, गठबन्धनका उम्मेदवार जिताउनको लागि उनी पार्टीकै कार्यक्रममा बढी व्यस्त छन् । उद्योग तथा पर्यटनमन्त्री मणिभद्र शर्मा कंडेल, उर्जा तथा खानेपानी मन्त्री हरिशरण आचार्य, आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का पनि उम्मेदवार होइनन् । तर, यी मन्त्रालय पनि सुनासन छन् ।
