मन्त्री मनाङे ऋणमा

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ऋणमा देखिएका छन् । मनाङेले सम्पति सार्वजानिक गर्दै आफू ऋणमा रहेको खुलाएका हुन् । सार्वजानिक पदमा नियुक्त भएको ६० दिन अर्थात दुई महिनाभित्र आफ्नो सम्पति विवरण सार्वजानिक गर्नुपर्ने कानुनी प्रावधान भएपनि मनाङेले भने मन्त्री भएको साढे चार महिनापछि सम्पति विवरण सार्वजानिक गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को वेवसाइडमार्फत उनको सम्पति सार्वजानिक भएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ९ जना मन्त्रीले भदौ ९ मा सम्पति सार्वजानिक गर्दा मन्त्री मनाङेले भने आफूसंग कति सम्पति छ भन्ने जानकारी नभएको भन्दै बुझाएका थिएनन् । असोज १९ मा मुख्यमन्त्री कार्यालयमा सम्पति विवरण बुझाएको मनाङेका स्वकीय सचिव रोनित गुरुङले बताए । उनले बुझाएको सम्पति विवरण अनुसार मनाङे डेढ करोड ऋणमा देखिएका छन् । उनले २०७३ मा कर्म गुरुङसंग ४० लाख रुपैयाँ ऋण लिएका थिए ।
यस्तै, २०७७ मा रमेश रानासंग ४० लाख, २०७३ मा मनाङ फलफूल सप्लायर्ससंग ६० लाख, टीका भण्डारीसंग दुई करोड ३५ लाख, २०७२ मा टासी गुरुङसंग २ करोड ३५ लाख रुपैयाँ (६ करोड १० लाख) ऋण लिए । टीका भण्डारीलाई २०७१ मा र टासी गुरुङलाई सोही बर्ष ऋण (४ करोड ७० लाख) तिरेको उनले सम्पति विवरणमा खुलाएका छन् । सम्पति विवरण अनुसार मनाङे १ करोड ४० लाख ऋणमा देखिन्छन् । उनले यतिका ऋण के का लागि लिइएको भन्ने खुलाएका छैनन् । मनाङेले स्थाथी ठेगाना काठमाडौं–२९ उल्लेख गरेका छन् भने हालको ठेगाना पोखरा–१४ काजीपोखरी रहेको खुलाएका छन् । मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं–२९ धर्मस्थलीमा कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् ।
उनीहरुको सम्बन्ध के भन्ने खुलाइएको छैन् । रोनितका अनुसार उनीहरु मन्त्री मनाङेका साथी हुन् । मनाङे र उनीहरुको नाममा संयुक्त जग्गा रहेको रोनितले बताए । जग्गा प्रतिआना ९ लाख रुपैयामा किनेको पनि उनले बताएका छन् । यसैगरी मालती महतारासंगको संयुक्त लगानीमा चन्द्रगिरि–२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोरा दिव्यको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् । उनले स्रोत भने खुलाएका छैनन् । मनाङेले बुझाएको सम्पत्ति विवरणमा मकवानपुरमा यत्मेय गुरुङको नाममा रहेको जग्गाबारे आफूलाई पनि जानकारी नभएको स्वकीय सचिव गुरुङले बताए । २०५४ मा १५ तोला, २०७० मा ७ तोला गरि २२ तोला सुन, १० लाख नगद, ४५ तोला चाँदी र एउटा कृषि फार्म रहेको उनले उल्लेख गरेका छन् ।
सो फार्ममा उनले २० वटा भैँसी र ५ वटा गाई रहेको पनि जनाएका छन् । व्यापार र वैदेशिक रोजगारीबाट सुन खरिद गरेको स्रोतमा खुलाएको छ । कृषि फार्मको ठेगना भने खुलाइएको छैन् । यसमा ४० प्रतिशत शेयर रहेको भने खुलाइएको छ । यस्तै, उनले एभरेष्ट वैंक पोखरामा १० लाख ४९ हजार ५३६ रुपैयाँ मौज्दात देखाएका छन् । सो रकमको स्रोत मन्त्री र सासद हुदाँ प्राप्त भएको बताइएको छ । पैतृक सम्पतिको नाममा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् । मनाङबाट स्वतन्त्र सांसद रहेका गुरुङ अघिल्लो सरकारको पालामा पनि दुईपटक खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुव्वा गुरुङ नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि उनले गठबन्धनलाई साथ दिएर उनले कित्ता परिवर्तन गरेका हुन् । गठबन्धनबाट पनि गुरुङ खेलकुद मन्त्री नै बनेका हुन् । २०७० मा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका मनाङेले २०७४ मा विशेष अदालतबाट सफाइ पाएका थिए ।
यस्तै, भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादु बुढाको पनि वेवसाइडमार्फत सम्पति विवरण सार्वजानिक भएको छ । मन्त्री बुढा सार्वजानिक गरिएको सम्पति विवरणमा सवैभन्दा गरिब मन्त्री देखिएका छन् । उनले आफ्नो नाममा कुनै सम्पति नरहेको खुलाएका छन् भने बाग्लुङको ताराखोलामा पुख्यौली सम्पति संयुक्त रहेको खुलाएका छन् । तर, सम्पति कति भन्ने उल्लेख छैन् । ताराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउदेश्यीय सहकारीमा १० हजार रुपैयाँ शेयर रहेको उल्लेख गरेका छन् । उनले यसभन्दा बढी घरजग्गा, सुन, पशु चौपाया केही पनि उल्लेख गरेका छैनन् । मन्त्री बुढाले आफूसंग सम्पति नभएकै कारण सम्पति विवरण बुझाउदा उल्लेख नगरेको बताएका छन् । उनी माओवादी केन्द्रबाट मन्त्री बनेका थिए । कृषिमन्त्री कोरोना संक्रमण भएकाले यसअघि सम्पति विवरण बुझाएका थिएनन् । असोज २४ मा विनाविभागीय मन्त्री बनेको डोबाटे विकले पनि आफ्नो सम्पति विवरण सार्वजानिक गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *