महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुआत

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशको राजधानी पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले बिजयी शुरुवात गरेको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा विहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।
गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिईन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् । गण्डकीले दोश्रो हाफमा थप आक्रामक खेल्दै २ गोल थप्यो । खेलको १७ औं र २६ मिनेटमा कमला पुनले गोल गर्दै गण्डकीका लागि स्कोर बढाईन् । त्यस्तै खेलको तेस्रो क्वाटरमा गण्डकीले थप २ स्कोर बढायो । खेलको ३४ औं मिनेटमा सोनु बरालले पुनः एक गोल गरिन् भने कमलाले ४२ औं मिनेटमा खेलमा व्यक्तिगत तेस्रो गोल गरिन् ।
अन्तिम क्वाटरमा गण्डकीको तर्फबाट दिपशिखा पौडेलले ५५ औं मिनेटमा गोल थपिन् । यसअघि उद्घाटन खेल वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने भनिएपनि जर्सी नआईपुगेपछि गण्डकी र प्रदेश १ बीच प्रतिष्पर्धा गराइएको थियो । दोस्रो खेलमा बागमती र सुदुरपश्चिम अहिले खेलिरहेका छन् । ७ टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुनेछ । यस्तै, पुरुष हक्की खेलमा नेपाल आर्मीले बिजयी शुरुवात गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गर्दैै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।
मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन पनि निर्धारित समय भन्दा केहिबेर ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिएपनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।
प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए । ‘खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ’ उनले भने, ‘खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ,विगतको जस्तो निराश हुने अवस्था छैन ।’
उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *