माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित भारत गएका हुन् ।
अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल राष्ट्र र नेपाली जनताको हितकै पक्षमा केन्द्रीत हुने बताए । भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले भ्रमणमा सीमा समस्याको सम्वोधन, नेपाल÷भारत द्विपक्षीय सम्बन्ध, व्यापार घाटा लगायतका विषयमा छलफल हुने जनाउ ।
अध्यक्ष प्रचण्डले आफूले पहिलो प्रधानमन्त्रीत्व कालमा र पछि पनि भएका भारत भ्रमणमा नेपालको पक्षमा नै निर्णयहरु लिएको र नेपाल भारतको सम्वन्धलाई नै थप प्रगाढ बनाएको बताउँदै अहिलेको भ्रमण पनि त्यसैको निरन्तरतामा छलफल हुने बताए । प्रचण्डले यस बारेमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्रालयलगायतसँग छलफल र परामर्श गरेको जानकारी पनि प्रचण्डले दिए ।
प्रचण्डले आफ्नो भारत भ्रमण आकस्मिक नभएको पनि बताए । ‘देख्नलाई यो भ्रमण आकस्मिक जस्तो देखियो, ‘उनले भने, ‘तर, यो मेरा लागि यो भ्रमण आकस्मिक होइन् ।’
राजदूत विजयमोहन क्वात्रा भएको बेलामा उपयुक्त समयमा भारत भ्रमणमा आउने प्रतिवद्धता जनाएको थिएँ, प्रचण्डले भने । करिव डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएका थिए । अध्यक्ष प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष श्री जगतप्रकाश नड्डाले प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिएका थिए ।
अध्यक्ष प्रचण्ड साउन १ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्डको भ्रमण टोलीमा स्वकीय सचिवद्वय गंगा दाहाल र रमेश मल्ल पनि रहेका छन् ।
प्रचण्डले आफुले यस पछि छिट्टै चिनको पनि भ्रमण गर्ने बताए । प्रचण्डले भर्खरै नेपालमा भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओ आफूलाई चीन भ्रमणको निम्तो दिएको जानकारी दिए । ‘अब कोभिड पनि छिट्टै नियन्त्रणमा आउँदैछ, तपाईं छिट्टै चीन भ्रमणमा आउनुपर्छ भन्नुभएको छ’ उनले भने, ‘मैले चीन भ्रमणमा आउँछु पनि भनेको छु ।’
प्रचण्डले सीपीसी विदेश विभाग प्रमुखको भ्रमण लगत्तै आफ्नो भारत भ्रमण तालिका परेकोमा कुनै साइनो नभएको स्पष्ट पारे । ‘चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने कुरा र म भारत जाने कुरासँग कुनै सम्बन्ध छैन । यो प्रस्ट पार्न चाहान्छु’, प्रचण्डले भने ।
प्रचण्डले भारत भ्रमणका क्रममा आफूले नेपाल राष्ट्र र नेपाली जनताको हितलाई केन्द्रमा राखेर भारतीय नेताहरुसँग कुराकानी गर्ने बताए । भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारलगायतका विषयमा कुराकानी हुने जानकारी दिए । प्रचण्डले दिल्लीमा बीजेपी अध्यक्ष नड्डा र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । यसैगरी विदेशमन्त्री, बीजेपी विदेश विभाग प्रमुख डा विजय चुथाईवालाले प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ । प्रचण्डले भोलि शनिबार नेपाल भारत सम्बन्धबारे आयोजित अन्तक्रिर्यालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।