पूर्वाधार अभावका कारण गण्डकी प्रदेश माछाकाे भुरा उत्पादनमा आत्मनिर्भर बन्न सककाे छैन् । मत्स्य अनुसन्धान केन्द्रका अनुसार मागको ५५ प्रतिशत भुरा मात्र प्रदेशभित्र उत्पादन हुन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत पोखराको बेगनासमा रहेको सोही केन्द्रमा मात्र माछाको ह्याचरी छ । मत्स्य विकास केन्द्रको स्वामित्वमा मत्स्य फार्म तथा ह्याचरी सञ्चालनका लागि पहल थालिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । प्रदेश विकास समाधान समितिको बैठकमा पनि यो विषयलाई प्राथमिकता साथ उठान गरिएकाे मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख गृष्म न्यौपानेले बताएका छन् ।
प्रदेशमा अन्यत्र माछाको स्रोत केन्द्र विस्तार हुन सकेकाे छैन् । निजी क्षेत्रबाट पनि ह्याचरीमा अहिलेसम्म लगानी नभएकाे मन्त्रालयले जनाएकाे छ । केन्द्रका प्रमुख मोहम्मद इकवाल हुसेनले ४५ प्रतिशत माछाका भुरा बाहिरैबाट आउने बताए ।
केन्द्रले वार्षिक जम्मा २५ लाख ‘ह्याचलिङ’ र २५ लाख ‘फ्राइ’ आकारका भुरा उत्पादन गर्दै आएको छ । किसानले चितवन, रुपन्देहीलगायत जिल्लाबाट भुरा ल्याएर माछापालन गर्दै आएका छन् । किसानलाई सहर, गर्दीलगायत स्थानीय जातका माछाका भुरा पनि केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
उक्त अनुसन्धान केन्द्र सङ्घ सरकार मातहत सञ्चालित छ । प्रदेश सरकारले स्याङ्जाको मिर्मिमा स्थापना गरेको मत्स्य विकास केन्द्र रहेकाे छ । पोखरामा थप ह्याचरी सञ्चालन गर्न सके गण्डकी प्रदेशलाई माछाका भुरामा आत्मनिर्भर बनाउन सकिने केन्द्रले जनाएकाे छ ।