नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६ ले सिम्रिक रङ्गको पृष्ठभूमि र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएमा त्यसलाई नेपालको राष्ट्रिय झण्डा नामाकरण गरेको छ ।
सरकारी कार्यालयमा राखिने झण्डा, कार्यालय प्रमुखको कार्यकक्ष, टेबुलमा राखिने, घरमा र सार्वजानिक स्थलमा झण्डाको प्रयोग कसरी गर्ने भनेर संविधानले आकार, प्रकारसहित मापदण्ड तय गरेको छ । तर, मन्त्रालयमा राखिने राष्ट्रिय झण्डा मापदण्ड विपरीत रहेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भवनको छत छेउमा मापदण्ड विपरीत राष्ट्रिय झण्डा राखिएको छ । यसो त, त्यस झण्डामा तोकिएको आकार पनि देखिदैन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव रविलाल पन्थले मापदण्ड अनुसार नै झण्डा राखिएको हुन्छ भन्ने भएपछि यसतर्फ ध्यान नपुगेको बताए । ‘अव सवै कार्यालयका राष्ट्रिय झण्डाको मापदण्ड अनुगमन गर्छौ’ उनले भने, ‘यदी मापदण्ड विपरीत भएमा हामी सुधार गर्छौ ।’ संविधानमा उल्लेख भएअनुसार संवैधानिक निकाय तथा सरकारी कार्यालयलले प्रयोग गर्ने राष्ट्रिय झण्डाको आकार ८ इन्टु ६ फिट हुनुपर्छ । नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संघसंस्थाले ६ इन्टु ४ फिट, संवैधानिक निकाय तथा सरकारी कार्यालय प्रमुखको कार्यकक्ष, गैरसरकारी संघसस्था तथा नेपाली नागरिकले व्यक्तिगत रुपमा प्रयोग गर्न ४ इन्टु ३ फिट, संवैधानिक निकाय वा सरकारी प्रमुखको टेबुलमा र विशिष्ट व्यक्तिले प्रयोग गर्ने सवारी साधनमा राखिने झण्डाको साइज ३० इन्टु २० सेन्टिमिटर हुनुपर्ने प्रावधान छ ।
यस्तै, राष्ट्रिय पर्व, राष्ट्रप्रमुख वा सरकार प्रमुखको औपचारिक भ्रमण तथा समकक्षी विदेशी पाहुनाको सवारीका बखत तोकिए बमोजिमको सडकको दायाँ बायाँ र चोकमा फहराउने झण्डाको आकार ३ इन्टु २.५ फिटको हुनुपर्छ ।
मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले सरकारी कार्यालयले राष्ट्रिय झण्डाको मापदण्ड नै थाहा नपाउने बताए । यसरी छतमा झण्डा सरकारी कार्यालयमा नभइ व्यक्तिगत घरमा मात्र प्रयोग गर्न पाइने उनको भनाई छ । उनले विहान बेलुका राष्ट्रिय झण्डा अनिवार्य राख्ने र झार्ने गर्नुपर्ने भए पनि त्यसो नगरिने बताए । यस्तै, वन तथा उद्योग मन्त्रालयले पनि मापदण्ड विपरीत राष्ट्रिय झण्डा राखेको छ । भवनमा छतमा राखिएको मध्यम खालको उक्त झण्डा रातभरी पनि निकालिदैन् । मन्त्रालयकै कर्मचारीका अनुसार झण्डा १० फिटको पनि छैन् । यस्तै, कास्कीका अधिकाशं सरकारी कार्यालयमा मापदण्ड विपरीत झण्डा राखिएको छ । विहान राख्ने र बेलुका फुकाउने गरेको कहि पाइदैन् । संविधानले विहान सूर्योदय भएको ५ मिनेट भित्रमा राष्ट्रिय झण्डा लगाई सक्नुपर्ने र सूर्यास्त हुनासाथ झिकिसक्नुपर्ने उल्लेख गरेको छ ।
कार्यालय भवनमा स्थिररुपमा राखिएको न्यूनतम ५ मिटर ८० सेन्टिमिटर (१९ फिट) को अग्लो पोलमा डोरीले बाँधेर फहराउने, कार्यालयको मूलद्धारबाट सामान्यतया मध्य भागमा प्रष्ट देखिनेगरी राख्ने, झण्डा राख्न पाउने पदाधिकारीको कार्यकक्षमा आसनको दाहिनेपट्टी कुर्सीको समानान्तरमा भुईमा नलत्रने र कत्तै नछुने गरी आधार (बेस) सहितको डन्डामा राख्ने, विशिष्ट व्यक्तिले प्रयोग गर्ने सवारी साधानमा दफा ४ को उपदफा १ को खण्ड घ बमोजिम झण्डा राख्दा गाडीको दाहिनेपट्टी ३५ सेन्टिमिटरको झडा राख्ने, कुनै व्यक्तिले राख्न चाहेमा दफा ४ को उपदफा १ को खण्ड ग बमोजिमको झण्डा भुईमा नलत्रने किसिमले झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर राख्ने, दुई वा दुई भन्दा बढी झण्डा रहेको अवस्थामा राष्ट्रिय झण्डा अग्लो गरी दाहिने (धेरै हुदा“ बिचमा) झण्डोत्तोलन गर्दा सवैभन्दा पहिला राख्ने र सवैभन्दा अन्तिममा झिक्ने गर्नुपर्छ ।
यस्तै, कवाज प्रदर्शनमा राष्ट्रिय झण्डाको प्रयोग हुने अवस्थामा टुकडीको अगाडि बीचमा पर्नेगरी बोक्ने, राष्ट्रिय झण्डा पछाडि विभागीय वा अन्य झण्डा राख्ने र यसरी राष्ट्रिय झण्डा बोक्दा दायाँ हात माथि र बायाँ हात तल पारेर झण्डा सिधा लिने, मार्च पासको क्रममा सलामी गर्दा झण्डा नझुकाउने तर विभागीय तथा अन्य झण्डा चलन अनुसार साली अवस्थामा लगी अभिवादन गर्ने, झण्डाको सम्मानलाई ख्याल गरी झण्डोत्तोलन गर्दा झण्डाभित्र फूल, अविर आदि राखी पोको पार्नु वा पट्याउनुको सट्टा बेग्लै कपडामा पोको पारी खसाउने व्यवस्था गर्ने, कुनै व्यक्तिप्रति सम्मान व्यक्त गर्नुपर्ने भएमा सरकारको निर्णय बमोजिम राष्ट्रिय झण्डा ओढाउनुपर्ने अवस्थामा पीताम्बर÷कफिनमाथि भुईमा नछुने गरी चन्द्रमा टाउकोतर्फ र सूर्य तलपट्टी पारी राष्ट्रिय झण्डा प्रष्ट देखिने गरी ओढाउनुपर्ने प्रावधान छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरीत राखिएका झण्डामा तत्काल मापदण्ड अनुसार व्यवस्था गरिने बताए । झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी सर्वसाधारण र नीजि निवासमा पनि झण्डा प्रयोग गर्न सकिन्छ । झण्डा फरफराउने व्यक्ति या नीजि संस्थाले पनि सरकारले शोक घोषण गरेको दिनमा अनिवार्य झुकाउनुपर्छ । राष्ट्रिय झण्डाको रिवाली तथा रिट्रिट (चढाउदा तथा होह्राल्दा) मा विगुलरले ऋतु अनुासरको धुन बजाउने र अर्कोले सोही विगुलको रिवालीको धुन सुरु भएर सकिदासम्ममा झण्डा डोरीमा बाँधी एकै गतिमा डोरी तानी माथि उचाल्ने र पोलको टुप्पामा पुगेपछि तरिकाबद्ध रुपमा पोलमा डोरी बाध्ने तथा विगुलको रिट्रिटको धुन सुरु भएर सकिदासम्ममा झण्डा ओह्रालेर डोरी खोल्ने, पोलमा डोरी तरिकाबद्ध रुपमा बाध्ने र अर्कोले झण्डालाई चार पत्र (फाल्ड) गरी पट्याउनुपर्ने हुन्छ । झण्डोत्तलन गर्दा एउटाले दुई हातको हत्केलामाथि राखी ल्याउने र अर्कोले पोलमा माथिपट्टी हेरी रिवाली÷रिट्रिटको विधि अनुसार समय र गतिमा विस्तारै डोरी तान्ने, झण्डा फहराई सकेपछि झण्डा ल्याउने एवंम फहराउने र विगुलले दुवै एकै साथ अभिवादन गर्नुपर्ने छ ।
संविधानले राष्ट्रिय झण्डा फहराउने समय तोकेको छ । जसअनुसार भदौ १ देखी लागू हुने गरी रिवाली विहान ५ बजे रिट्रिट बेलुका ६ बजे, कार्तिक १ देखी लागू हुने गरी रिवाली विहान ५ः३० बजे, रिट्रिट साँझ ५ः३० बजे, फागुन १ देखी लागू हुने गरी रिवाली विहान ५ः३० र रिट्रिट साँझ ६ बजे र वैशाख १ देखी लागू हुने गरी रिवाली विहान ५ र रिट्रिट साँझ ६ बजे हुनुपर्छ । कोत गारद नभएका कार्यालयमा राष्ट्रिय झण्डा फहराउने र ओह्राल्ने गर्दा विगुलरको आवश्यकता पर्दैन । राष्ट्रिय झण्डा झुकाउनुपर्ने अवस्थामा राष्ट्रिय झण्डालाई पूरै फहराउने अवस्थामा लगी त्यसपछि पोलेको बिचमा ल्याई झुकाउनुपर्ने हुन्छ । संविधानले अपमान हुने किसिमले काम नगर्न, उल्टो नराख्न, च्याँत्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, व्यापारिक प्रयोजनका लागि विज्ञापनको उदेश्यकले दुरुपयोग गर्न, व्यक्तिले झण्डाको प्रतीक बनाउदा वा शरिरमा टाँस्दा कम्मरभन्दा माथिको भागमा मात्र राख्ने झरी झण्डाको निषेध गरेको छ ।