मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएको संख्या २४ पुगेको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको बस मंगलबार मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा दुर्घटना भएका थियो ।
प्रहरीका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ‘ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
उनका अनुसार ७ महिला, १६ पुरुष र एउटा बच्चाको मृत्यु भएको छ । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको उनले जनाए । कठिन र भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको उनको भनाइ छ । अप्ठ्यारो ठाउँमा गाडी दुर्घटना भएकाले ठूलो संख्यामा मानिसको मृत्यु भएको उनले बताए । घाइतेमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत उद्धार गरी सुर्खेत र नेपालगन्ज पुर्याइएको छ । प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थी बढी थिए ।
मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो । मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो ।