मुग्लिन–पोखरा सडक विस्तार : निर्माणले गति लिदै

Share this post :

Facebook
Twitter
WhatsApp

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको निर्माण कार्यले गति लिएको छ । वर्षात्को समय भए पनि पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भएको छ । पूर्वी खण्ड अन्तर्गत ४१ दशमलव ७ किलोमिटरमध्ये २३ किमीमा चार लेन र ८ किमीमा दुई लेनको सडक कालोपत्रे भइसकेको छ ।

वैशाख २ गतेदेखि एक सय ५५ दिन म्याद थप गरिएकाले थपिएको म्यादभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण कार्य अघि बढाएको आयोजनाका इन्जिनियर विष्णु पाण्डेले बताए । कोरोनाका समयमा निर्माण प्रभावित भएकाले सम्झौताअनुरुप काम सम्पन्न नभएपछि सरकारबाट म्याद थप गरिएको थियो । तनहुँको आँबुखैरेनी, डुम्रे, व्यास र म्याग्दे खण्डका विभिन्न स्थानमा कालोपत्रे गरिएको छ । यस खण्डमा ६० प्रतिशत भन्दा बढी कार्य प्रगति भइसकेको छ।

मुग्लिन–पोखरा सडक विस्तारलाई पूर्वी र पश्चिम दुुई खण्डमा विभाजन गरी निर्माण गरिएको हो । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् भने दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीन वटा ठूला पुलको काम भइरहेको छ।

पश्चिम खण्डमा हालसम्म ३८ दशमलव ८८ किलोमिटर सडक निर्माण भइरहेको छ भने, २५ प्रतिशत कार्य प्रगति भएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । यस खण्ड अन्तर्गत १५ किमीमा दुई लेनको सडक कालोपत्र भइसकेको छ । राजमार्ग अन्तर्गत पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

‘पश्चिम खण्डमा राजमार्गको दायाँबायाँ रहेका ५० प्रतिशत भन्दा बढी पोल हटाएर काम भइरहेको छ । आयोजनाले अव करिब २ हजार दुई सय विद्युतका खम्बा हटाइने जनाएको छ । हालसम्म तनहुँ खण्डको खैरेनीटारबाट कोत्रेबारीसम्म र कास्कीको कोत्रेपारिबाट तल्लो गगनगौँडासम्म पोल हटाउने काम भइरहेको आयोजनाले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *