आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत सोमबार प्रतिनिधिसभा सदस्यको मतगणना समपन्न भएको छ । हिमाली जिल्ला मुस्ताङमा काँग्रेसले खाता खोलेको छ । प्रतिनिधिसभा सदस्यमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । अहिले मुस्ताङमा काँग्रेसले विजयी ¥याली निकालेको छ ।
काँग्रेसबाट उम्मेदवार बनेका २९ वर्षिय योगेशलाई माओवादी केन्द्रको साथ थियो । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये मुस्ताङबाट पहिलो मतपरिणाम आएको हो । २९ वर्षीय गौचनले एमालेका पूर्वसांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।
सार्वजनिक मत परिणाम अनुसार गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । नवनिर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका छन् । २०७४ मा मुस्ताङमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए ।
