गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।
गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आइतबार उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।
समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’
उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउँदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरि पनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले पूजा गरेका हौ ।’
धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउदै स्वस्तीशान्ति पूजा आवश्यक रहेको धारणा राखे । उनले अनुकुल तिथी पारेर गरेको पूजा प्रभावकारी हुने बताउदै आजकै दिनमा पूजा तथा दिप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथी हो, त्यसैले ग्रन्थमा उल्लेख भए अनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दिप प्रज्वलन र पूजा गरेका हौं ।’ उनले भने ।
उक्त दिप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजन र सयौंको सँख्यामा भक्तजनको सहभागिता रहेको थियो । बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तीको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको छ ।
