‘मेरो पोषण साथी’ मोवाइल एप सार्वजानिक

Share this post :

Facebook
Twitter
WhatsApp

गर्भवती, सुत्केरी तथा २ वर्षमुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने ‘मेरो पोषण साथी’ मोबाईल एप सार्वजानिक गरिएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्तालाई स्याहार, खानपानर स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामायीक र उपयोगीबारे जानकारी गराउँदछ ।

एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मोवाइल एपको शुभारम्भ गरेका छन् । नेपालीको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको मन्त्री बस्नेतले बताए । नेपाली प्रयोगकर्तामैत्री एपले दर्ता गर्दा दिईएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारकोबारेमा स्याहारकर्तालाई जानकारी दिनेछ ।

स्वास्थ्य सचिव देवकुमारी गुरागाईले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहुआयामिक प्रभाव पार्ने बताइन् । एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभुत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्ने उनको भनाई छ ।

एपसँगै कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुची राख्ने सबैको लागि नेपालमा आधारभुत स्वास्थ्य र पोषण सम्बन्धी दस्तावेज एकै स्थानमा सहजरुपमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेषगरी पहिलोपटक आमाबन्दै गरेका महिलालाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने धारणा राखिन् । ‘नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकता अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो’ उनले भनिन, ‘यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआईडीको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ । नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआईडीले सधैं हातेमालो गर्नेछ ।’

युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको ‘मेरो पोषण साथी’ एप प्लेस्टोरबाट डाउनलोग गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *