मेसीले अहिले नजिते कहिले जित्ने ?

Share this post :

Facebook
Twitter
WhatsApp

स्पेनी प्रशिक्षक लुइस एनरिकेले केही दिनअगाडि भनेका थिए, यदि अर्जेन्टिनी लियोनल मेसीले विश्वकप जित्न सक्दैनन् भने त्यो अन्याय नै हुनेछ । तर सातपल्टको बालोन डी’अर विजेताका लागि सायद समय र अवसर दुवै बितिरहेको छ ।
कतार युनिभर्सिटी मैदानमा अभ्यासका क्रममा लियोनल मेसीसहित अर्जेन्टिनी खेलाडी । तस्बिर स् एएफपी
क्रिस्टियानो रोनाल्डोसँगै उनी पाँचौं पटक विश्वकप खेलिरहेका छन् । अन्तिम पनि । यो पुस्ताले देखेका महान् फुटबल खेलाडी यिनै दुई हुन् । अझ उनीहरूलाई सर्वकालीन महान् मान्ने पनि छन् ।
विवादरहित सर्वकालीन महान् खेलाडी पेले र अर्जेन्टिनाले कम्तीमा एकपल्ट विश्वकप जिते । तर डर छ मेसी र रोनाल्डोमाथि कहिले पनि विश्वकप जित्न नसकेको दाग लाग्न सक्छ । भन्न सकिन्छ, सायद मेसीसामु यसपल्ट विश्वकप जित्ने सबैभन्दा राम्रो अवसर छ । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना विश्वकपको फाइनलमा त पुग्यो, तर ब्राजिलमा भएको यस प्रतियोगितामा जर्मनीसँग १–० ले पराजित रह्यो । मेसीका लागि निकै पीडादायी थियो ।
अझ सन् २०१६ तिर मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको घोषणासमेत गरे । सबैको अपेक्षाअनुसार उनले आफ्नो निर्णय फेरे र अर्जेन्टिनाका लागि २८ वर्षयता पहिलो उपाधि पनि जिते ।
ब्राजिलमा भएको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले आयोजक देशलाई नै हराएको थियो । त्यो पनि माराकाना रंगशालामा । त्यो त्यही रंगशाला हो, जहाँ त्यसको सात वर्षअघि विश्वकप फाइनलमा हार बेहोरेको थियो । अहिले तत्काल भने अर्जेन्टिना लयमा छ ।
उपाधिको बलियो दाबेदार मानिएको अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित छ । त्यतिमात्र होइन, अर्जेन्टिना यसपल्टको लिग चरणमा सजिलो समूहमा रहेको छ । कम्तीमा कागजमा यत्तिको दाबी गर्न मिल्छ । अर्जेन्टिनाले मंगलबार आफ्नो पहिलो खेल खेल्दै छ साउदी अरेबियाविरुद्ध । त्यसपछि अर्जेन्टिनाले मेक्सिको र पोल्यान्डको सामना गर्नेछ । गत साता मात्रै पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले भनेका थिए, ‘अर्जेन्टिना पक्कै पनि उपाधिका लागि निकै बलियो प्रत्याशी हो ।’ उनी थप्छन्, ‘अर्जेन्टिना केही नभए पनि पछिल्ला ३० खेलमा अपराजित छ । ऊ कसैका लागि पनि कडा प्रतिद्वन्द्वी हो ।’
बार्सिलोनाका लागि नोउ क्याम्पमा प्रिय खेलाडी भएका लेवान्डोस्की मेसीले छाडेर गएको विरासत सम्हाल्ने प्रयासमा छन् । उनी भन्छन्, ‘मेसी बार्सिलोनाका महान् खेलाडी हुन् । उन कति ठूला खेलाडी हुन् भनेर बार्सिलोनामा कहींकतै पनि महसुस गर्न सकिन्छ । उनी अर्जेन्टिनी नेतृत्वकर्ता हुन् माथिल्लो दर्जाका । हामी सबैलाई थाहा छ, हामी कोविरुद्ध खेल्दैछौं भनेर ।’
लेवान्डोस्की त्यस्ता पुस्ताका खेलाडी हुनेछन्, जसले विश्वकपमा अन्तिम पटक मेसीलाई देख्नेछन् । यस्तै अनुभव सायद केही आत्मविश्वासी साउदी खेलाडीले पनि गर्नेछन् । साउदी मिडफिल्डर अब्दुल्लाह अल–मलिकी मान्छन्, उनको टिम मेसीको सामना गर्दा भावनामा बग्ने छैन । उनी भन्छन्, ‘मेसी महान् खेलाडी हुन्, उनी जत्तिको खेलाडीविरुद्ध खेल्न पाउनु पनि सपना पूरा हुनु जस्तै हो, तर हामी अहिले साउदी अरेबियाको प्रतिनिधित्व गरेर खेलिरहेका छौं, त्यसैले भावनात्मक हुने छैनौं ।’
मेसीसामु अर्जेन्टिनी फुटबल नायक रहेका दिवंगत म्याराडोना सन् १९८६ मा आफ्नो देशका लागि विश्वकप जिते र सधैंका लागि अमर बने । मेसीले चार युरोपेली च्याम्पियन्स लिग र १० स्पेनी ला लिगा जितेका छन् । त्यसैले उनी पक्कै पनि त्यसमा विश्वकप थप्न चाहन्छन् । तर, यस्तो इच्छा उनको एक्लो मात्र हुने छैन । एनरिके भन्छन्, ‘यदि स्पेनले विश्वकप जित्न सक्ने छैन भने म चाहन्छु, अर्जेन्टिनाले जितोस् मात्र मेसीकै लागि भए पनि ।’
मेसी बार्सिलोनाकै खेलाडी हुँदा एनरिकेले तीन वर्ष क्लब सम्हालेका थिए । उनी थप्छन्, ‘साँच्चै मेसीले विश्वकप उपाधिविना नै संन्यास लिनुपर्ने भयो त्यो त अन्याय नै भयो ।’ सर्जियो अगुइरो र गोन्जालो हिग्विनले पछिल्लो समय संन्यास लिए पनि अहिलेको अर्जेन्टिना टिम अझै उत्तिकै बलियो मानिएको छ । त्यो पनि गत वर्षको तुलनामा । मेसीसँगै अर्जेन्टिनासँग एन्जेल डी मारिया र लाउटारो मार्टिनेज पनि छन् । दुवै भेट्रान हुन् अनि अनुभवी । मेसी स्वयंका लागि भने अहिले ठ्याक्कै यही स्थिति छ, अहिले नजिते कहिले जित्ने त ? इकान्तिपुरबाट..

Leave a Reply

Your email address will not be published. Required fields are marked *