भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)ले बहुमत ल्याएपछि नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् ।
मोदीको शपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली जाने भएका छन् । मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारी छ । शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ ।
प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको जनाएको छ । भारतको कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहेका मोदीले प्रधानमन्त्री दाहालसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो पठाएका छन् ।
यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।
शपथ कार्यक्रममा श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधामन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निमन्त्रणा पठाइएको भारतका संचारमाध्यमले जनाएका छन् ।