दशै नजिकिदै गर्दा गाउँघरमा युवा भेला हुने र बाबियो काटेर ल्याथे । पिर्के, लिंगे, रिगटे पिङहरु हाल्ने चलन थियो बालबालिकादेखि बृद्धबृद्धासम्म दशैको बेला एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेल्थे । टोलटोलमा पिङ देख्न पाइन्थ्यो । ती पिङहरु तिहारसम्म राखिन्थ्यो । तिहार सकिएसंगै पिङ फुकाएर राख्ने चलन पछिल्लोसमय मेटिदै गएको छ ।

यताकता पिङ हालेको भए पनि बजारका प्लाष्टिकका रसि प्रयोग हुन्छन् । पुरानो मौलिकता मासिदै गएपछि पोखराका युवाहरुले पिङ गठन समिति बनाएर लेकसाइडस्थित बाराहीघाटमा पिङ हालेका छन् । हराउँदै गएको मौलिकता, मेटिदै गएका पिङलाई संरक्षण गर्नको लागि पोखराका युवाहरुले चार पिर्के (चम्राले) पिङ, रिंगटे पिङ र दुई वटा लिंगे पिङ राखेका छन् । बाराहीघाट जाने जोकोही पनि पिङ खेलेर फर्किन पाइन्छ ।

बसाइँसराइँ बढ्दै गएपछि पिङको चलन पनि विस्तारै हराउँदै गयो । नयाँ पुस्तामा पिङप्रतिको मोह घट्दै गयो । नयाँ पुस्तालाई पनि परम्परालाई जोगाउनुपर्छ भन्ने सन्देश दिनको लागि पनि पिङ राख्ने काम भएको युवाहरुले बताएका छन् । ‘दसैं र तिहार भन्नेबित्तिकै गाउँ जानुपर्छ, पिङ हाल्नुपर्छ भन्ने सबैलाई हुन्थ्यो तर, पछिल्लोसमय फेरिएको छ’ लेकसाइडका युवा व्यावसायी पोमनारायण श्रेष्ठ भन्छन, ‘मान्छेलाई परम्पराको ख्याल छैन् । व्यस्त दैनिकी घर पुगेर टीका लगाएर फर्किनै हतार हुन्छ ।’ पछिल्लो पुस्तामा पिङप्रतिको मोह घट्दै गएका कारण पनि मौलिकता हराउँदै गएको उनी बताउँछन् ।
अहिले युवापुस्ता पिङ्मा भन्दा पनि सामाजिक सञ्जालमा रमाउने र पिङ हाल्ने युवा बिदेश हुँदा जनशक्तिको अभावले पिङ नै लोप हुन लागेको उनको धारण छ ।

बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएकाले गर्दा पिङ संस्कृति हराउँदै गएको बुढापाकाहरु बताउँछन् । पहिला शहरमा समेत खाली ठाउँमा पिङ हाल्ने भए पनि आजभोली देख्नै नपाइने पोखरा–१७ ड्यामसाइडकी ४३ वर्षिया निर्जला गुरुङ बताउँछिन् । उनले १०÷१२ वर्षको अन्तरालमा धेरै परिवर्तन आएको बताइन् । स्याङ्जाको बाहाकोट घर भएकी गुरुङ भन्छिन, ‘दसैंको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले गाउँमा पनि विरलै मात्र देख्न पाइन्छ ।’
