गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले यातायातका सेवासुविधामा जनतालाई सहज पहुँच पुयाउनका लागि लेखनाथमा शाखा कार्यालय खोलिने बताएका छन् । भेटघाटको क्रममा उनले पोखरा यातायात कार्यालयमा सुधार गर्न धेरै प्रयास गरिए पनि देखिने गरी प्रयास गर्न नसकिएको बताए ।
‘सुधारका प्रयासै नभएका भने होइनन’ उनले भने, ‘एकै पटक महशुस हुने गरी परिवर्तन गर्न सकिएको छैन् । जनतालाई सहज बनाउन र कार्यालयमा भीडभाड कम गराउन लेखनाथमा शाखा खोल्ने तयारी गरेका छौ ।’ उनले लेखनाथ शाखा खोलेपछि मात्र पोखरा कार्यालयमा देखिने गरी सुधार ल्याउन सकिने बताए । ट्रायल दिने क्रममा यातायात कार्यालयले पुराना र विग्रिएका सवारी किन राख्छ ? जसका कारण दिनमा २०–२५ जना त्यस्ता सवारीकै कारण ट्रायल फेल हुने गरेका छन् भन्ने प्रश्नमा मन्त्री जुग्जालीले उक्त जवाफ दिएका हुन् ।
सधै एउटै कम्पनीसंग सम्झौता गर्ने र गाडी, स्कुटर भाडाँमा ल्याउने चलन रहेको बताउदै उनले सम्झौताको समय सकिएपछि जुनसुकै कम्पनीले पनि सम्झौता गर्न र गाडी हाल्न पाउने व्यवस्था गरिने बताए । ट्रायलको लागि प्रयोग गरिने सवारी साधन नीजि कम्पनीले बाहिर सिकाउने र ट्रायलको लागि तिनै प्रयोगमा ल्याउने गर्दछ ।
मन्त्रालयल यातायात ऐन ल्याउने तयारीमा छ । यसको लागि विधेयकको मस्यौदा बनाउने कार्य भइरहेको मन्त्री जुग्जालीले बताएका छन् । उनले यातायात कार्यालय पोखरामा नेपालमा नै अनलाइन प्रणालीमार्फत राजश्व बुझाउने नियम संचालन गरेदेखी भीडभाड केही कम भएको बताए । ट्रायल पास भएपछि अस्थायी लाइसेन्सको लागि २० दिन कुर्नुपर्ने नियम पनि परिवर्तन गरिने उनको भनाई छ ।