रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ का युवा व्यवसायी सन्देश घिमिरेले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि संघीय र प्रदेश सरकारबाट आफ्नो जिल्ला र नगरपालिकामा कर्यौ योजना राख्न सफल भएका छन् । लामोसमयदेखी समस्या रहेको सडक, झोलुङेपुल, सिंचाई, खानेपानी, सामुदायीक भवन, गुम्वा लगायतका योजनामा उनको पहलमा १० करोड भन्दा बढी बजेट रामेछाप भित्रिएको छ ।
घिमिरे देशभरका उच्च तहका प्राविधिक कर्मचारीहरुका निकट मानिन्छन् । सो सम्बन्धकै कारण उनले आफ्नो जिल्लामा एक्लो प्रयासमा यतिका धेरै योजना पार्न सफल भएका हुन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट मात्रै रामेछापमा झोलुङ्गेपुल र सडकपुलमा ९ करोड ६६ लाखका विनियोजन भएकाे छ । त्यस्तै उनकाे वडा रामेछाप ८ मा ५० लाखको छत्रेपोखरी–फुर्सेमाटा–चनौटे–देवीथान–टुनीवोटे सडक, ५० लाखकै भ्यागुरे–कालीआँप–धारापानी सडक र सामुदायिक भवन पिप्लाटारलाई २० लाख विनियोजन भएको छ ।
यस्तै, निमाधावा बौद्ध गुम्वालाई २० लाख, सुनकोशी देउराली भोटे बगर रामेछाप र सिन्धुली (दुई जिल्ला) जोड्ने झोलुङ्गेपुललाई ६० लाख, रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाको सिम्ले र ओखलढुंगाको चम्पादेवी २ ग्वाङखोला जोड्ने झोलुङ्गेपुल सर्वेक्षणको लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ । काठमाडौंमा रहेर व्यवसायी गर्दै आएका घिमिरे आफ्नो गृह जिल्लाका समस्यामा थोरै भए पनि सहयोग गरेको बताउँछन् । ‘जनताका समस्यामा थोरै मलम लगाउने प्रयास गरेको छु’ उनले भने, ‘जनतामा विकासको तीव्र चाहाना छ । तर, उनीहरुले सोचे अनुसारको विकास हुन सकेको छैन् । जनताका साना समस्यालाई विकासे योजनामार्फत सहयोग गर्ने प्रयास गरेको छु ।’
घिमिरेले रामेछापमा खानेपानीको चरम समस्या रहेको बताउदै अव खानेपानी समस्या समाधानमा लागि पर्ने बताए ।