केही महिना अघिको कुरा हो, आफ्नै बहिनीलाई (सानो बुवाको छोरी) दाईले जवरजस्ती करणी गरे । उनी आफूले मात्र बलात्कार गरेनन् अरु चारजना साथीलाई पनि बलात्कार गर्न लगाए । बाँकी तीनै जना आफ्नै हाड नाताभित्रका नातेदार थिए । चाउचाउ किनिदिने भनी फकाएर किराना पसल लगेका थिए, घरभन्दा केही पर । साँझको समय जंगलमा एक्लै पारेर फकाईफुलाई चारै जनाले बलात्कार गरे ।
बलात्कार गरेपछि बालिकालाई जंगलमै छाडेर उनीहरु चारैजना फरार भए । बलात्कारपछि पीडितका आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले फरार रहेका चारै जनालाई दुई दिनपछि पक्राउ ग¥यो । अहिले उनीहरुलाई बाल सुधार गृह सराङकोट कास्कीमा राखिएको छ । घटना स्याङ्जाको वालिङ नगरपालिकाको हो । यस्तै, भीरकोट नगरपालिकामा पनि १० बर्षिया बालिकामाथि १४ बर्षिया दुई बालकले सामूहिक बलात्कार गरे । उनीहरुलाई पनि प्रहरीले बाल सुधार गृह पोखरामा नै लगी राखेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव निरीक्षक ज्ञानप्रसाद काफ्लेका अनुसार सुधार गृहमा नै खाने, बस्ने र पठनपाठनको व्यवस्था हुन्छ । १८ बर्ष पुगेपछि मात्रै मुद्दा दर्ताको प्रकृया अगाडी बढाइने उनले बताए । ‘१८ बर्ष पुगेपछि मुद्दा दर्ता हुन्छ, पीडक कारागार जान्छन्’ अनुसन्धान अधिकृत समेत रहेका काफ्ले भन्छन् ।
प्रहरीका अनुसार बालबालिकाको हकमा कतिपय घटना बुझेर भन्दा पनि नबुझेर पनि हुने गरेका छन् । कानुनमा व्यवस्था गरेअनुसार १८ बर्ष नपुगेका बालकलाई कारागार राख्न मिल्दैन । पुतलीबजार नगरपालिका–३ बाडखोलास्थित एक किशोरीलाई आफ्नै सौतने बाबुले बलात्कार गरे । पुतलीबजार–४ नागँडाँडामा पनि आफ्नै परिवारबाट बालिकालाई यौन दुरव्यवहार भयो । कालीगण्डकी गाउँपालिकामा पनि १४ बर्षिया बालिका आफ्नै नातेदारबाट बलात्कार भइन् ।
यी केही प्रतिनिधिमुलक घटना हुन् । प्रहरी अनुसन्धानले जवरजस्ती करणीको घटनामा बढी बालक र युवा संलग्न रहेको बताएको छ । उमेर पुगेका बृद्ध र वयश्क भने हाडनाताभित्रै पर्ने गरेको प्रहरीको तथ्यांकले देखाएका छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार बालबालिका आफैमा गलत कार्य हो भन्ने नबुझेर पनि घटना हुने गरेका छन् ।
जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सीता सुन्दास बालबालिका र युवायुवतीका लागि यौन शिक्षा आवश्यक रहेको बताउँछिन् । ‘अहिलेका बालबच्चाको जन्मन नपाउदै बाबुआमाले फेसबुक खोल्दिन्छन’ सुन्दास भन्छिन, ‘युट्युवमा हेर्नु, नहेर्नु हेरेका हुन्छन् । घरघरमा नेट, इन्टरनेट जोडिएका छन् । जसका कारण सानैदेखि अनावश्यक भीडियो हेर्छन् ।’
उनले भनिन, ‘भीडियोमा के छ भन्ने कौतुहल्ता हुन्छ । बालबालिका एकआपसमा भीडियोमा जस्तै गर्छन् । तर त्यो गलत काम हो भनेर उनीहरुले बुझेका हुदैनन् । बाबुआमाले पनि यस्ता भिडियो हेर्न हुदैन भनेर सिकाउदैनन् ।’ उनले बाबुआमाले प्रत्येक बालबालिकालाई खुलेर यौन शिक्षाको बारेमा सिकाउन जरुरी रहेको बताइन् । ‘घरमा नै यौन शिक्षाबारे सिकाइदैन भने यस्ता घटना दिनदिनै हुन्छन’ उनले थपिन, ‘अभिभावककै लापारबाहीका कारण घरभित्रै यौन हिंसा भएको छ ।’
जिल्ला प्रहरी कार्यालय स्याङजाको तथ्यांकले समस्याको गम्भिरता देखाउछ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा जवरजस्ती करणीका २० वटा मुद्दा दर्ता भएका थिए, जसमा पीडित ३ नाबालिका थिए । यस्तै, २०७६÷७७ मा १२ मुद्दा दर्ता भएकोमा १० बालिका थिए भने, २०७७÷७८ मा २४ मुद्दा दर्ता मध्ये १७ बालिका, २०७८÷७९ को कार्तिकसम्म दर्ता भएका ४ मुद्दामध्ये २ बालिका छन् ।
प्रहरी तथ्यांक अनुसार बर्षेनी बालिका माथि यौन दुव्यवाहार भएका घटना बढ्दा छन् । यसबाट पनि बालिका असुरक्षित छन् भन्ने बुझ्न सकिन्छ । यी घटनाहरुले बालबालिकाको लागि यौन शिक्षा जरुरी रहेको देखाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारी बताउछन् । पीडकको संख्या हेर्दा किशोर अवस्थाका बढी रहेको डीएसपी अधिकारीको भनाइछ । ‘कोही नियतवश पनि बलात्कार गर्छन तर धेरै किशोर अवस्थाका पीडकले गल्ती काम हो भन्ने नजानेर पनि बलात्कार गरेका छन् ।’ उनका भनाइमा यो काम गलत हो, यस्तो गरेमा कानुन लाग्छ, कारागार बस्नुपर्छ भन्ने शिक्षा नहुदा“ पनि घटना हुने गरेका छन् ।
‘कपितय केश हेर्दा नावालिकाको पीडक नाबालक पनि छन्’ उनले थपे, ‘कतिपय पीडक यस्ता छन् बाबु गल्ती गरेका हौ भन्दा के हो र गल्ती भन्छन् । भीडियो देखाएर यो काम गरेको हो या होइन भनेर सोध्दा हो भनेर स्वीकार्छन् । यस्ता घटनामा नबुझेरै गल्ती गरेको भएपनि कारबाही गर्नुपर्ने अवस्था आउछ’ अधिकारी सानैदेखी यौन शिक्षाको अभाव हुदाँ बालबालिकामा बलात्कारका घटना बढेको बताउछन् । प्रहरी अनुसन्धानले बालबालिका, किशोरकिशोरी सँगसँगै अभिभावकलाई पनि यौन शिक्षाको कक्षा संचालन गर्नुपर्ने देखिन्छ । बाबुआमाले घरमा बालबच्चालाई यौनका कुरा खुलेर भन्न नसक्दा पनि यस्ता घटना बढ्दै गएको मानव अधिकारकर्मी शिव खकुरेल बताउँछन् ।
‘समग्र गण्डकी प्रदेशकै अवस्था हेर्दा बलात्कार, जवरजस्ती करणी उद्योग, यौन हिँसामा किशोरकिशोरी नै संलग्न छन्’ उनले भने, ‘यो सवै यौन शिक्षाको अभावले भएको हो । घरमा मात्रै होइन प्रत्येक विद्यालयमा यौन शिक्षाको एउटा छुट्टै कक्षा संचालन गर्नुपर्छ ।’ उनले स्थानीय तहले संचालन गर्ने पाठ्यक्रममा यौन शिक्षालाई जोड दिनुपर्ने बताए । मानवअधिकारकर्मीका अनुसार, माया गर्ने वहानामा पनि बालिका यौनको शिकार बनेका छन् । ‘आफन्तमा विश्वास हुन्छ’ खकुरेल भन्छन, ‘माया गर्ने वहाना बनाउँछन तर, बालिकालाई यौन शोषण गरेका हुन्छन् । यस्ता कुरा सानाले कसरी बुझ्ने ?’ उनले किशोरीको अवस्थामा पनि ९ देखी कक्षा १२ सम्म अध्ययनरत बढी पीडित रहने गरेको बताए । ‘अहिले त स्कुलदेखीकै लभ रे’ उनले थपे, ‘फेसबुकको पासवर्डसमेत ‘सेयरिङ’ छ । नेटमा जे जस्तो पनि राखेको हुन्छ । यसमा अभिभावकको ‘केयरिङ’ नभएकै कारण समस्या उत्पन्न हुन्छन् । अभिभावकले छोराछोरी दिनभरी कहाँ गए ? के काम गरे ? उनीहरुको व्यवहारमा केही परिवर्तन छ या छैन भनेर चासो राख्न जरुरी छ ।’ उनी अभिभावकले समयानुसार चल्नुपर्छ भन्दै आफूखुशी छाडिदिदा घटना नहुदाँसम्म कसैको विश्वास नहुने बताउँछन् ।
पालिकास्तरबाटै यौन शिक्षामा जोड
जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका परिवार नियोजन अधिकृत मित्रप्रसाद अर्याल विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गराइरहदा यौन शिक्षामा जोड दिनुपर्ने बताउछन् । ‘किशोरकिशोरीलाई प्रजनन यौन शिक्षाबारे सिकाउनुपर्छ’ अर्याल भन्छन, ‘संघीयता कार्यान्वयन भएसँगै किशोरकिशोरीमैत्री कार्यक्रममा सरकारले खासै चासो दिएको छैन् । सँघीय सरकारका केही कार्यक्रम भएपनि स्थानीय सरकारले यसतर्फ चासो नै देखाउन सकेनन ।’ उनले विद्यालयमा लक्षित कार्यक्रम र साथी शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
स्थानीय तहहरुले यसतर्फ बजेट समेत लगानी नगरेको अधिकृत अर्याल बताउँछन् । प्रजनन् स्वास्थ्य कार्यक्रममा स्थानीय सरकारहरुले चासो देखाउनुपर्ने अर्यालको भनाई छ । स्वास्थ्य कार्यालयका अनुसार संघीयता लागू हुनुअघि प्रजनन् स्वास्थ्य, लैङगिक हिंसा, यौन हिंसा सम्बन्धी कार्यक्रम विद्यालयमा शिक्षक, विद्यार्थी र स्वास्थ्य संघसंस्थाका स्वास्थ्यकर्मी र स्वंमसेवकलाई लागू गरिएको थियो । स्याङ्जा जिल्लामा मात्रै किशोरकिशोरी लक्षित कार्यक्रम संचालन गर्न १३ वटा संस्था संलग्न थिए । ति सवै संस्था, त्यस समयमा तालिम लिएका स्वास्थ्यकर्मीहरु अहिले कति विस्थापीत छन् कति सकृय छन भन्ने जिल्ला स्वास्थ्य कार्यालयमा नै कुनै विवरण नरहेको अर्याल बताउँछन् ।
‘यहाँ प्रजनन् स्वास्थ्य भनेको के हो ? लैंगिक हिंसाका घटना के हुन् ? यौन शिक्षा भनेको के हो ? यौन हिंसाबाट बच्न कसरी सकिन्छ ? जस्ता विषयमा सिकाइन्थ्यो’ उनले भने । उनका अनुसार यस क्षेत्रमा काम गर्नको लागि देशभर १ हजार संस्था संलग्न थिए । तर, अहिले तिनिहरुको अवस्थावारे केहि भन्न नसकिने उनको भनाइ छ ।
अहिले पनि यौन शिक्षाको आवश्यकता उत्तिकै रहेको उनको भनाई छ । ‘स्कुल–स्कुलमा लैजानको लागि यस्ता कार्यक्रम बढी महत्वपूर्ण छन्’ अर्याल थप्छन्, ‘पालिकाले ५ बर्षसम्म चासो देखाएनन् । अव पालिकास्तरबाटै अवस्था के छ ? किन यस्ता घटना भइरहेका छन् भनेर यौन हिंसाका घटना अध्ययन गर्नुपर्छ ।’ उनले रोकथामको लागि पनि सम्बन्धीत निकायबाट पहल थाल्नुपर्ने बताए ।
वालिङ नगरप्रमुख दिलीपप्रताप खाँडले नगरपालिकाबाट युवायुवतीको लागि विभिन्न कार्यक्रम संचालन गरिएको भएपनि यौन शिक्षा लक्षित कार्यक्रम छुट्टै नसमेटिएको बताए । ‘बलात्कारका घटना बढ्दा छन्’ खाँड भन्छन, ‘घटना कसरी रोकथाम गर्न सकिन्छ भनेर यसतर्फ ध्यान दिएका छौ । तर, ठोस कार्यक्रम भने ल्याउन सकिएको छैन् ।’ उनले विद्यार्थी संगसंगै अभिभावकलाई पनि यौन शिक्षा दिन नगरपालिकाले पहल गर्ने बताए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले नगरपालिकाबाट विद्यालयमा स्वास्थ्य कार्यक्रम, किशोरकिशोरीमैत्री कार्यक्रम संचालन गर्दै आएको बताए । ‘सचेतनामुलक कार्यक्रम त छ । तर, यौन शिक्षाको छुट्टै कार्यक्रम छैन’ उनले थपे ।
के छ कानुनी व्यवस्था ?
वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरका अनुसार बालिकालाई जवरजस्ती करणी गर्नेलाई मुलुकी अपराध संहिता २०७४ दफा २१९ उपदफा (३) को ‘ग’ अनुसार १४ बर्ष वा १४ बर्षभन्दा बढी १६ बर्षभन्दा कम उमेरकी बालिका भएमा १२ देखि १४ बर्षसम्मको कैद व्यवस्था छ । यसैगरी, हाडनाता भित्र करणी गर्नेलाई ३ देखि ६ बर्षसम्मको कैद व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ को दफा २०२ मा क, ख, ग र घ गरी सजायको व्यवस्था छ ।
आफैले जन्माएको आमाछोराबीच करणी भएमा जन्मकैद, सौतेने आमाछोरा, बाबुछोरी, सहोदर दिदीभाई, दाजुबहिनी, एकै हाँगाको ससुरा बुहारी, देवर भाउजु भएमा ४ देखि १० बर्षसम्म कैद र ४० देखि १ लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था छ । एकै हा“गाको ३ पुस्ता सम्मको बजै, नाति, पलाति, ठूलोबुवा, काका, भतिजी, ठूलीआमा, ससुरा, भतिजी बुहारी, खाख्खै मामा भान्जी, सानीमा छोरा, सासु ज्वाँई भएमा ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
यस्तै, माथी उल्लेखित नाताबाहेक ७ पुस्तासम्मको अन्य नातामा करणी भएमा हा“गो, नाता र पुस्तासमेत विचार गरि १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजारदेखि ३० हजार रुपैयासम्म जरिवाना लाग्ने व्यवस्था कानुनले गरेको छ ।
