रबर उद्योगमा चिनियाँको चासो

Share this post :

Facebook
Twitter
WhatsApp

गोरखकाली रबर उद्योगमा चिनियाले चासो देखाएका छन् । २०७१ चैतदेखी बन्द रहेको यस उद्योग नेपालकै एक मात्र टायर उत्पादन गर्ने उद्योग हो । २०७४ र हालै सम्पन्न निर्वाचनको मुख्य एजेण्डा भएको भएपनि यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन् । अहिले उद्योग झाडीले ढाकिएको छ । मेसिनरी उपकरण जीर्ण बनेका छन् । उद्योगका संरचना पनि लथालिंग छन् ।
गोरखा नगरपालिका–१३ मझुवा देउरालीमा रहेको उद्योग पुनः सञ्चालनका लागि चिनियाँ लगानीकर्ताले चासो देखाएका छन् । एक साताअघि चिनियाँ लगानीकर्ताको एक टोलीले उद्योग परिसरको निरीक्षण गरेको स्थानीयले बताएका छन् । २०७५ माघ पहिलो साता उद्योगका मजदुर कर्मचारीलाई स्वैच्छिक अवकाशको योजना ल्याएसँगै सुनसान बनेको उद्योग लयमा फर्किएको छैन । उद्योग मन्त्रालयले खटाएका सुरक्षाकर्मीले पहरा दिएका छन् । उद्योग सञ्चालनको मोडालिटीबारे यसअघि पनि पटकपटक चर्चा चले पनि ठोस कार्ययोजना अघि बढ्न सकेको छैन ।
उद्योगको परिसर र मेसिनरी सामग्रीको अध्ययनसँगै स्थानीयसँग उद्योगबारे चासो राखेर चिनिया टोली फर्किएको छ । यसअघि सरकारले गठन गरेको कार्यदलले उद्योग निजीकरण गर्न सकिने प्रस्ताव गरेको थियो । कार्यदलले उद्योगमा जडित क्षमता कम रहेको र प्रविधिसमेत पुरानो भएको बताएको थियो । कार्यदलको प्रस्तावपछि उद्योगप्रति निजी क्षेत्रको चासो बढेको हो । निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि दिने र नदिने भन्ने विषयमा भने सरकारले कुनै निर्णय गरिसकेको छैन । यसो त प्रदेश सरकारले पनि यस उद्योगको विषयमा बेला बेलामा कुरा उठाउँदै आएको थियो । उद्योगका पुराना कर्मचारी भने अहिलेको टेक्नोलोजीबाट उद्योग सञ्चालन गर्दा अन्तर्राष्ट्रिय टायरसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्छन् । नयाँ प्रविधिको प्रयोग, दक्ष कर्मचारी र व्यवस्थापन विषयविज्ञ भए उद्योग सञ्चालनमा समस्या नुहने कर्मचारी बताउँछन् । चिनियाँ टोलीले पनि उद्योगमा जडित प्रविधिबारे चासो राखेका थिए ।
गोरखा सदरमुकाम प्रवेशद्वार देउरालीमा ६ सय ८२ रोपनी क्षेत्रलफलमा उद्योगका संरचना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *