विजेताहरुलाई बधाई तथा शुभेच्छुक र मतदाताहरुलाई हार्दिक धन्यवाद !!!
सर्वप्रथम नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत (८१.५ %) प्राप्त गर्नुहुने आदरणीय नेता डा. शशांक कोइरालादेखि ३५ जनाभित्र अट्न सफल कृष्ण किशोर घिमिरेसम्मका सम्पूर्ण नेताहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल र सम्झनयोग्य कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
खुला ३५ सदस्य तर्फको नतिजाको विश्लेषणले देखाएको तथ्य के हो भने यो अधिवेशनमा केन्द्रीय सदस्य जित्न सफल हुनेहरु (अपवादबाहेक) अधिकांश मन्त्री, सांसद भइसकेका, तरुण दल वा ने.वि.संघको केन्द्रीय नेतृत्वमा विभिन्न कालखण्डमा रहेका र ठेकेदार पृष्ठभूमिकाहरु नै रहे । जुन विश्लेषणको विषय हुने नै भयो आगामी दिनहरुमा ।
अब आफ्नै बारेमा केही लेख्न मन लाग्यो । म पनि खुला ३५ तर्फको प्रत्याशी उम्मेदवार ….। रुपान्तरणको पक्षमा वडा, नगर, प्रदेश, क्षेत्र, जिल्ला पुनः प्रदेश हुँदै केन्द्रसम्म अभियानमा निरन्तर खटेको व्यक्ति । गणितमा साह्रै कमजोर पनि थिइन् । व्याचलरमा मेजर म्याथ पढेको, तर यो पटक आफ्नै अंकगणित पूरै फेल खायो । सुरुवाती अंकगणित राम्रै थियो । देशैभरको रुझान परिवर्तन र रुपान्तरणको पक्षमा, मोटामोटी हिसाबले पनि जिल्ला र प्रदेशको सहयोग, म आबद्ध संस्थाहरु शिक्षक संघ, प्याब्सन लगायतको सहयोग रहेको थियो । अब बाँकी रह्यो एउटै कुरा, रुपान्तरणको पक्षधरको समूहमा आफ्नो उपस्थिति, त्यसको आश्वासन र विश्वास ।
ठूलो उत्साहका साथ स्याङ्जाबाट काठमाडौं आएँ, कलम कापी लिएँ, हिसाब लगाएँ, रुपान्तरण पक्षधरहरुको समूहको साझा उम्मेदवार हुँदा टीम मत २३ सय र सोही हाराहारीमा यथास्थितिवादीको करिब २२ सय होला भन्ने आँकलन गरेँ । बाँकी करिब २ सय मत तरल भएको आँकडा निकालेँ अनि प्रतीक्षा गरिरहेँ साझा उम्मेदवारको….। प्रतीक्षा, प्रतीक्षा अनि केवल प्रतीक्षा मात्र । म जस्तै हजारौँ कार्यकर्ताहरुले सुखद समाचारको प्रतीक्षा गरे होलान् । कामना मात्र गरिरहे, तर नतिजा शून्य, साझा उम्मेदवारको निर्णय भएन । परिवर्तनकारी शक्तिहरुले परिवर्तनको पक्षमा जनादेश र मतादेश हुँदाहुँदै आफैँ बीचको असमझदारी, अहंकार र असहिष्णुताको कारण सबैले मौका चुकाउनुभयो, प्राप्त ऐतिहासिक अवसर गुम्यो, गुमाइयो । नेतृत्व परिवर्तन केवल शाब्दिक आडम्बरमा सीमित रह्यो ।
खबर जंगलको डढेलोझैँ फैलियो । नेपाली कांग्रेसलाई सधैँ सैद्धान्तिक र वैचारिक रुपले पृष्ठपोषण गर्ने सबैका अभिभावक आदरणीय नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिनुभयो र तटस्थ बस्दै कार्यकर्तालाई आफैँ संरक्षित हुन निर्देशन दिनुभयो रे, त्यागी नेता गणेशमानको विरासत बोक्ने अर्का आदरणीय नेता प्रकाशमान सिंह कुनै हालतमा सधैँ त्याग गर्न नसकिने, अब पछाडि नफर्कने भन्दै बैठक छाडी मत माग्न हिँड्नुभयो रे, पार्टीका संस्थापक बीपी कोइरालाको विरासत बोक्ने आदरणीय नेता डा. शशांक कोइरालाले प्रतिस्पर्धाबाट पछाडि हट्दै मौनधानरण गर्नुभयो रे ।
यो निराशाजनक खबरले रुपान्तरणका पक्षधर मजस्ता हजारौँ कार्यकर्ताको मनोबल खस्कनु स्वाभाविक थियो, चरम निराशा स्पष्ट हारको दृश्य आँखाअगाडि दृष्टिगोचर भयो र यथास्थितिवादीहरुलाई प्राप्त अनपेक्षित ऊर्जा र सम्भावित मतकाबीच डा. शेखर कोइरालाको नेतृत्वमा रुपान्तरणका बाँकी अभियन्तासहितको समूहको मैदानमा उत्रँदा केही राहत अनुभूति त भयो, टाढा क्षितिजमा थोरै आशाको किरण देखियो, सोही आशाको किरणलाई विश्वासमा बदल्दै अगाडि बढ्नुको अरु विकल्प थिएन ।
मेरा शुभेच्छुक, साथीहरु सल्लाह दिँदै थिए, अबको परिवर्तित परिवेशमा खुलाबाट सदस्य जित्न कठिन हुन्छ होला, विचार गर भनेर, म फेरि कलमकापी लिएर अंकगणिततर्फ लागेँ । साझा उम्मेदवार हुँदाको सम्भावित २३०० टिम मतमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, यी सबै छुटिँदा करिब ७ सय मत घट्छ होला, रामचन्द्रजी तटस्थ र डा. शशांक मौन बस्दा १००÷१५० मत संरक्षणको खोजीमा दायाँबायाँ लाग्दा पनि बाँकी टिम मत घटेर १५ सयको हाराहारीमा स्थिर रहन्छ होला । डा. शेखरको टिममा पक्कै परिन्छ । र सो टिमबाट चुनाव लड्दा १५ सय जति मत समूहले देला, नपुग्ने २ सयदेखि ३ सय मत त व्यक्तिगत रुपले पनि कमाउन सक्छु भन्ने आँकलन गरेँ । चुनाव अन्फम जित्छु जस्तो लाग्यो । कथंकदाचित जितिएन भने पनि एउटा सशक्त प्रतिस्पर्धी त पक्का हुन्छु भन्ने लाग्यो । चुनावमा जाने नै सोच बनाएँ अनि समूह निर्माणकर्तासँग सम्पर्क बढाएँ ।
सम्पर्क गर्दा मैले इच्छा व्यक्त गरेको गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यतर्फ गाह्रो हुने भयो, प्रेसर धेरै भयो, मन्त्री, मुख्यमन्त्रीहरुले त्यसैमा दाबी गर्नुभयो, त्यसैले खुला ३५ मा मनोनयन दर्ता गर्नु भन्ने खबर आयो, त्यसै अनुरुप गरेँ । तयार पारिसकेको पुरानो प्रचार सामग्री फालेँ । पर्चा पम्प्लेट नयाँ बनाएँ अनि प्रचारमा लागेँ ।
प्रचारप्रसार गरिरहँदा समूह बने–नबनेको सोधिरहेँ, टीममा छस्, ढुक्क प्रचार गर्नु भन्ने आश्वासन पाइरहेँ । पदाधिकारी टुंग्याएर युवा नेताहरु पनि आआफ्नो प्रचारको लागि भृकुटीमण्डप आउनुभयो ।
सोही बेला मैले हरेक पदाधिकारीका उम्मेदवारलाई आफ्नो बारेमा सोधेँ । सबैबाट सकारात्मक जवाफ पाएँ झनै उत्साहित भएर प्रचारमा लागेँ । उम्मेदवारी फिर्ताको समय पनि सकियो, कसैले Team मा नपरेकाले फिर्ता गर् भनेनन् झन् ढुक्क भएँ ।
साझ पयो, रात प¥यो रातमा धेरै चलखेल हुन्छ सचेत हुनुपर्छ भन्ने सुझाब नआएको होइन आएकै थियो तैपनि मलाई Team का नेताहरुप्रति विश्वास थियो, थोरै उब्जेको शंका निवारणका लागि आफ्नो जिल्ला सभापतिमार्फत verify गरेँ । पुनः ढुक्क भएर प्रचारमा लाग्नु भन्ने खबर पाएँ, अनि सुन्धारातर्फ मत माग्न सोझिएँ । राती १ बजेसम्म सुन्धारातिरै मत मागिरहेँ । फर्कने बेला राति १M३० मा खोइ त list Final भएन नि भनी खोजी गरेँ । सदस्य मात्र बाँकी हो तपाईको छ ढुक्क लाग्नु भनियो, अनि म घरतर्फ लागेँ ।
बिहान ७ बजेमात्र उठेँ तयार भएर मतदानस्थल पुगेँ, करिब ८ बजेको होला, म त्यहाँ पुग्दा मतदाताहरु लाइनमा बसिसकेको देखेँ, यथास्थितिवादीहरुको Final Team को list धेरै प्रतिनिधिहरुको हातमा देखेँ, हाम्रो टिमको लिस्टको खोजी गरेँ, कतै पाइएन । भोटरहरु लिस्ट माग्दै थिए लिस्टको अत्तोपत्तो थिएन । करिब ९:३० बजे मात्र लिस्ट आयो पहेँलो कलरमा, जसमा मेरो नाम कतै भेटिएन । हतासा, निरासा अनि पीडाको अनुभूति एकैपटक गरेँ । सोधीखोजी गरेँ सबै ठूला नेताहरुले हजुरको नाम लिस्टमा हामीहरुले राखेकै थियो कसले बदमासी गरेछ भनेर पन्छिनुभयो र सान्त्वना दिन थाल्नुभयो । करिब १० बजिसकेको थियो । मसँग धेरै विकल्पहरु थिएनन्, या त १) मैले Team मा नपरेकोमा प्रेस वक्तव्य दिनुपथ्र्यो वा २) फेसबुकमार्फत आफ्नो उम्मेदवारी नरहेको सूचना दिनु पर्थ्यो, वा ३) चुपचाप मत माग्नु पर्थ्यो। पहिलो र दोस्रो विकल्पको कुनै प्रभाव हुने देखिनँ, किनकि मतदाताहरु सबै लाइनमा आइसक्नुभएको थियो । मैले तेस्रो विकल्प रोजेँ ।
मैले नै त्यो पहेँलो टिमको लिस्ट बाँडे, साथीहरुले सोध्नुभयो खै त तिम्रो नाम ? म अनुत्तरित रहेँ । त्यो बेला मलाई २ वटा प्रश्नको उत्तर दिन अत्यन्तै कठिन भयो, पहिलो प्रश्न थियो १) तपाईको नाम टिम लिस्टमा त छैन त ….. के भयो ? २) यस्तो बुझेको मान्छे यो महासागरमा Team मा नै नपरी किन चुनाव लडेको …….. ?
माथिका दुवै प्रश्नको जवाफ मसँग थिएन म चूप रहेँ, मेरो मनस्थिति र अनुहार हेरेर थुप्रै परिचित अनुहारहरुले आफैँ बुझ्नुभयो म Team मा परिन, काटिएँ वा हटाइएँ । मैले खोजी गर्दा थाहा पाएँ, परिवर्तनकामी शक्तिबाट प्रदेश सभापतिमा लडेकामध्ये जित्ने र हार्नेहरुको सचिवालयलाई सदस्य टुंग्याउन जिम्मा दिइएको थियो रे । ६ वटा जिल्लामा कैँची चलाइएछ, कस्को आदेशमा ? किन ? केका लागि ? प्रश्न अनुत्तरित छ । समयले सत्य अगाडि ल्याउने नै छ । र अनुत्तरित प्रश्न सधैँभर अनुत्तरित रहनेछैन ।
मत माग्दै लाइनमा हिँड्दा मजस्तै थुप्रै पिडितहरु भेटेँ, ने.वि.संघ महामन्त्री उर्मिला थपलियाजी भेटिनुभयो, केही सोध्नै परेन, उहाँको गहभरीको आँसुले धेरै कुरा बताइरहेको थियो, एक अर्कालाई सान्त्वना दियौँ, तर मैदान छाडेनौँ । हामी मतदाताहरुको एउटा Common concept छ, मनोविज्ञान छ, आफूले Vote हालेकाले जितोस्, हार्नेलाई भोट नदिउँ किनकि कुनै पनि भोटरले आफ्नो भोट कुहियोस् भन्ने चाहँदैन । यो चुनावमा कुनै पनि टिममा नपर्नेले जित्ने कुरा त असम्भव नै थियो । यो मनोविज्ञानबाट मतदाता प्रभावित नहुने कुरै भएन ।
चुनाव सकियो, मत परिणाम आयो २०० भन्दा बढी महाधिवेशन प्रतिनिधिज्यूहरुले मलाई मतदान गर्नुभएछ । म भावविभोर भएँ, ऋणी छु, नमन गर्छु सम्पूर्णमा । जसले आफ्नो मत कुहिन्छ भन्ने जान्दाजान्दै पनि मलाई अमूल्य मतदान गर्नुभयो, खट्नुभयो । चुनाव हार्ने जान्दा जान्दै पनि मत मागिदिनुभयो, प्रचारप्रसार गरिदिनुभयो, सहयोग गर्नुभयो, म ऋणी छु, धन्यवादको कुनै शब्द छैन उपयुक्त समयमा यो गुन र ऋण तिर्ने नै छु ।
रुपान्तरणका अभियन्ताहरु, थुप्रै तरुण युवाहरु, भावी दिनका आशा र भरोसाका व्यक्तित्वहरु पार्टीको पदाधिकारी र सदस्यमा निर्वाचित भइरहँदा एउटा झिनो आशा पलाएको छ, अब केही हुन्छ कि ? विधानसम्मत ढंगले पार्टी सञ्चालन हुन्छ कि भन्ने ….. ।
म भने थुप्रै आश्वासनहरु र सान्त्वनाको पोको बोकेर आफ्नै गाउँ स्याङ्जा फर्कँदै छु । फर्कदैँ गर्दा सोचिरहेको छु । जे भयो राम्रै भयो र अब जे हुनेछ, राम्रै कै निम्ति हुनेछ ।
तैपनि मनले भन्दैछ, काश Team मा नाम नकाटिएको भए, Team को १५०० मत र मैले पाएको २०६ मत थपिँदा १७०६ हुने रहेछ । सदस्यमा झन्डै चुनाव जितिने रहेछ । किनकि अन्तिम ३५औँ मा पर्नेको मत १७०७ छ । टीममा पर्दाको उत्साहले चुनाव जितिने रहेछ कथंकदाचित जित्न नसक्दा पनि निकटतम सशक्त प्रतिस्पर्धी हुने रहेछु, यी विचारहरु मेरा कोरा कल्पनामा मात्रै सावित भए, के गर्नु अंकगणित बिग्रेको म … ।
जय नेपाल ।
भरतप्रसाद लम्साल,
महाधिवेशन प्रतिनिधि स्याङ्जा तथा केन्द्रीय सदस्यको उम्मेद्वार (खुलातर्फ)