सिद्धार्थ राजमार्गसँग जोडिने स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत अहिले पोखरामा भेला भएका छन् । सिद्धार्थ आर्थिक करिडोरको लागि सार्वजानिक नीजि साझेदारीको विषयमा चर्चा गर्न उनीहरु शनिवार पोखरामा जुटेका हुन् । कार्यक्रम आइतबारसम्म चल्नेछ ।
सिद्धार्थ आर्थिक करिडोरको लागि स्थानीय तहका प्रमुखहरुको मञ्चले आयोजना गरेको कार्यक्रममा करिडोरको पूर्वाधारसँगै कृषि, उद्योग जलाधर क्षेत्रमा पनि विकास गर्नुपर्ने विषयमा चर्चा गरिनेछ । पाल्पाको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य हुन् । पानसमा बत्ति बाल्दै मेयर आचार्यले सहकार्य र समन्वयबाटै दीगो विकास हुने तर्क राखे । उनले पर्यटकीय हव पोखराबाट भैरहवा ४ घण्टामा पुग्ने गरि राजमार्गको विस्तार गर्नुपर्ने बताउँदै करिडोरको लागि साझेदारीमा काम गर्न महानगर तयार रहेको बताए ।
सिद्धार्थ करिडोरले पोखरा महानगरसँगै, स्याङ्जाका पाँच पालिका फेदीखोला गापा, पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नपा, पाल्पाका ५ पालिका रम्भा, बगनासकाली, माथागढी गापा, तानसेन नपा, तिनाउ गापा रहेका छन् भने रुपन्देहीका बुटवल उपमहानगर, ओमसतिया गापा, सिद्धार्थ र तिलोत्तमा नपा रहेका छन् । १५ वटै पालिकाको विकासमा साझेदारी गर्ने र प्रत्येक कार्यक्रम सहकार्य र समन्वयमै लानुपर्ने बताइएको छ । आर्थिक, सामाजिक क्षेत्रमा ध्यान दिदै बढ्दो बसाइँसराइँलाई गाउँमै रोक्ने योजना ल्याउने, एकीकृत विकासमा जोड दिने, अन्तरपालिकाबीच सहकार्य र समन्वय गर्ने विषयमा छलफल गरिएको थियो ।
पहिलो दिन सुदुढ परियोजनाका सरोज बस्नेतले कार्यक्रमको उदेश्य तथा अपेक्षित परिमाणको विषयमा प्रस्तुति राखेका थिए भने, कार्यालय सदस्य विष्णु पौडेलले सिद्धार्थ आर्थिक करिडोर र मेयरस फोरमबारे, बेलायत राजदुतावासकी प्रतिनिधि सविता थापाले सम्मुन्नति र सुदुढ कार्यक्रमको विषयमा प्रष्टाएकी थिए । कोभिडका कारण नेपालमा बेलायत सरकारको लगानी घट्दै गएको उनले बताइन् । यस्तै, पूर्व सचिव कृष्ण ज्ञवालीले सिकाई सम्बन्धि कार्यक्रमको समिक्षा गरेका थिए भने, सानिसा विज्ञ मणिराम सिंह महतले सानिसाको अवधारण, नपा स्तरमा सानिका परियोजनाका कार्यान्वयनका लागि अवसर र चुनौति, सानिसाको कानुनी विज्ञ नारायण चौलागाईले नेपालामा सानिसाको कानूनी रुपरेखा, लुम्बिनी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री र गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारीले प्रदेशका काम बारे टिप्पणी गरेका थिए ।
नीजि क्षेत्रले लगानी गर्न चाहेर पनि देशमा आर्थिक समस्या हुदाँ लगानी गर्ने वातावरण नभएको कार्यक्रममा चर्चा गरिएको थियो । राजमार्ग विस्तार र यहाँबाट प्रभावित जनताको व्यवस्थापनमा पनि छलफल गरिएको थियो । जोखिम रहेको राम्दी मोटरेबल पुलको पनि व्यवस्थापन गर्नुपर्ने जनप्रतिनिधिको भनाइ थियो ।
