आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जा क्षेत्र नम्बर १ मा राजु थापा र नारायणप्रसाद लामिछाने तेस्रो पटक आमन्ने सामान्ने छन् । उनीहरुको चुनावी प्रतिस्पर्धा यो तेस्रो पटक हो । यसभन्दा अघिल्ला दुई निर्वाचनमा पनि उनीहरु नै मुख्य प्रतिस्पर्धी थिए ।
राजु थापा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । नेपाली काँग्रेस स्याङ्जाका सभापति समेत रहेका थापासँग एमालेका नारायणप्रसाद मरासिनी प्रतिस्पर्धी बनेका छन् । मरासिनी एमालेको जिल्ला अधिवेशनमा पराजित जिल्ला अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा १० हजारको मतान्तरले राजुलाई पराजित गर्दै विजय भएका मरासिनी यसपटक पनि चुनावी नतिजा आफ्नो हातमा पार्ने दाउमा छन् । यता, थापा २०७० को निर्वाचन आफ्नो कोल्टामा पारे पनि २०७४ को निर्वाचनमा भने पराजित भए । तर, आसन्न निर्वाचनमा भने नतिजा आफ्नो पोल्टामा पार्ने दावी थापाको छ ।
दुवै जना युवा नेता हुन् । पार्टीले पत्याइएका यी नेता चुनावी मैदानमा उत्रिएका छन् । नारायण अघिल्लो निर्वाचनमा बाम गठबन्धनको साझा उममेदवार थिए । उनलाई माओवादी केन्द्रको साथ थियो भने यसपटक माओवादीको साथ राजुलाई छ । सत्तारुढ र प्रतिपक्ष गठबन्धन चुनावी मैदानमा प्रतिस्पर्धा गर्दा स्वतन्त्र उम्मेदवार पनि जोशका साथ निर्वाचनमा होमिएका छन् । तर, ठूला भनिएका पार्टीका उम्मेदवारको प्रतिस्पर्धाले जिल्लामा नतिजा कसको कोल्टामा पार्छ भन्ने कौतुहल्ता बढी देखिएको हो । यता, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फवाट बोधराज रेग्मी पनि चुनावी मैदानमा छन् । रवि लामिछाने नेतृत्वको पार्टीमा प्रदेशको प्रवक्ताको जिम्मेवारी लिएर काम गर्दै आएका रेग्मी स्याङ्जा १ मा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका हुन् । पुराना दलबाट अव निकास नआउने भन्दै नयाँ नेतृत्व त्यसमा पनि युवा नै मतदाताको रोजाइँमा पर्ने उनी बताउँछन् । मतदाताले पनि नयाँ अनुहार चाहाने उनको तर्क छ ।
‘यस अघिको निर्वाचनमा पराजय भए पनि म सधै जनताकै साथमा रहे’ थापाले भने, ‘दुःख, सुख जनतासँगै बसेर काम गरेको छु । म गाउँ बस्तीकै नेता हुँ ।’ घरदैलोमै पुगेर समस्या बुझ्ने र आफूले जाने र सकेको काम गरेको उनले बताए । युवालाई रोजगारी बनाउन आफूले व्यवसायीक यात्रा तय गराउन सफल भएको दावी उनमा छ । यिनीहरु सवै जनाको एजेण्डा युवा लक्षित र कृषि क्रान्तिका अर्थात साझा छन् ।
