रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति हुन् । राष्ट्रपति पदका अर्का उम्मेदवार नेकपा एमालेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयको मत घोषणाको मतपरिणाम अनुसार पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।
राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।
राप्रपाका १४ सांसद भने निर्वाचनमा सहभागी भएनन् । नेमकिपाका प्रेम सुवाल पनि सहभागी भएका थिएनन् । माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि चीन र भारत छन् ।
निर्वाचनमा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।
पौडेलको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।