लामाेसमय पाेखरामा पत्रकारिता गरेर वैदेशिक राजगारकाे लागि जापान गएका रामचन्द्र राईले त्रिभुवन पाैडेल स्मृति अक्षय काेषमा आर्थिक सहयाेग गर्ने भएका छन् ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि राईले आफ्नाे जन्मदिन अर्थात पाैडेलकाे १३ अाैँ दिन पारेर शुक्रबार आर्थिक सहयाेग गर्ने घाेषणा गरेका हुन् । राईले काेषमा १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने छन् ।
संस्थापक अध्यक्ष पौडेलको निधनले मर्माहत बनाएको भन्दै उनले ‘भनेका छन्, ‘…आज मेरो जन्मदिन पनि पर्न गयो । एक पत्रकार या संचारकर्मीको हैसियतले बिशेषत, प्रिय सहयोद्धा/सहकर्मी त्रिभुवन पौडेलको स्मृतिमा गौरवशाली संस्था नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले स्थापना गर्न लागेको (त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागी १ लाख १ हजार १ रूपैया जम्मा गर्ने निर्णय गरेको छु । हुनत यो न भने पनि नलेखे पनि हुने थियो । तर, लेखिदिए । यस अर्थ की यति सुन्दर ऐतिहासिक कार्यमा म भन्दा सयौगुणा साक्षम दिग्गज महानुभावरको लर्को यसरी नै लागोस । चलाऊदा चलाऊदैको कलम या माइक्रोफोन गोजीमा थन्क्याएर सटुक्क प्रबासिने धेरै अग्रज तथा मित्र त्रिभुवनका धेरै नजिकका दौतरी सहकर्मीहरु हुनुहुन्छ । यो सन्दर्भमा यो महत्वपूर्ण कर्ममा उहाँहरु सबैलाई सहभागी भईदिन हुनको लागी यहीबाट सार्वजानीक अपिल पनी गर्न चहन्छु ।’
रामचन्द्र राईले कोसले एक सहकर्मीलाइ बचाई रहन महत्वपूर्ण भूमिका खेल्ने निचोडका साथ हातमा हात मिलाउन आइपुगेको उल्लेख गरेका छन् । समाजिक सञ्जाल फेसबुकबाट पत्रकार महासंघ स्याङ्जा शाखाकी सचिव प्रतीक्षा काफ्ले मार्फत पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीसंग सम्पर्कमा आएका उनले अक्षयकोष निर्माण गरेकामा महासंघ गण्डकी प्रदेशप्रति आभार समेत प्रकट गरेका छन् । उनले आफूले घोषणा गरेको रकम छोरी प्राप्ति राई मार्फत हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।
पत्रकार महासंघ गण्डकी प्रदेश समितिले यही माघ ९ गते आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा प्रदेश स्तरीय ‘त्रिभुवन पौडेल स्मृति पत्रकाररिता पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित १० लाख रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने निर्णय गरेको थियो । त्यसमा प्रदेश समितिको तर्फबाट ५ लाख रुपैयाँ र बाँकी ५ लाख रुपैयाँ महासंघ गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु, पत्रकार एवं सुभेच्छुकहरु मार्फत जम्मा गर्ने निर्णय भएको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
यस्तै, महासंघ गण्डकीले अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन पौडेल स्मृति कक्ष’ नामाकरण गरेको छ भने, महासंघ कास्की शाखासंग समन्वय गर्दै शालिक निर्माणमा समेत पहल गर्ने निर्णय गरेको छ ।