राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । हदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम सदस्यहरुले शपथ लिएका हुन् ।
शपथ लिनेमा नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार रहेकाछन् ।
नवनिर्वाचित सदस्य सुरेशकुमार आले मगर, राजेन्द्रलक्ष्मी गैरे, तुलप्रसाद विश्वकर्मा, युवराज शर्मा, दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा, मदनकुमारी शाह गरिमा, जगतबहादुर पार्की र नारायणदत्त मिश्रले पनि शपथ लिएका हुन ।
नवनिर्वाचित सदस्यले सभा तथा संसदीय समितिमा भाग लिनुअघि सङ्घीय कानुन अनुरुप शपथ लिनुपर्ने सवैधानिक व्यवस्था छ ।
राष्ट्रियसभा सदस्य १९ पदका लागि गत माघ १२ गते निर्वाचन भएको थियो । सदस्यहरुको कार्यकाल छ वर्षको हुनेछ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई सङ्घीय ससद्को प्रतिक चिह्न९लोगो० प्रदान गरे । सचिवालयका महासचिव डा भरतराज गौतमले उहाँहरुलाई सचिवालयको तर्फबाट सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, राष्ट्रियसभाका विभिन्न राजनीतिक दलका नेता, मुख्य सचेतक र सचेतक सो अवसरमा सहभागी भएका थिए ।