राष्ट्रिय गौरवका आयोजना वर्षौं बित्दापनि ज्यूकाँत्यूँ

Share this post :

Facebook
Twitter
WhatsApp

तीन वटा राजमार्गले जोडिएको जिल्ला हो बाग्लुङ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले बरेङ , ताराखोला र तमानखोलाबाहेक ७ गाउँपालिकालाई छोएको छ ।

तर, मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला शहरबाट यातायात सञ्चालन हुन्छ ।

यो जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी छ वटा पालिका जोडेको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला शहरबाट गाडी आउँदैनन् ।

सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला शहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२–१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले ६२ करोड विनियोजन गरे पनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन । नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ ।

कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ । सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *