सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पहलमा गण्डकी प्रदेशभित्रका जिल्लास्तरीय रेडक्रस सोसाईटीसंग रक्तसञ्चार सम्बन्धी समन्वयात्मक बैठक पाेखरामा सम्पन्न भएको छ । उक्त बैठकको समन्वय मन्त्रालयले गरेको थियो भने व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार सेवाले गरेको थियो ।
बैठकमा गण्डकी प्रदेशभित्रका ११ वटै जिल्ला शाखाका सभापति र रक्तसञ्चारका इन्चार्ज उपस्थित थिए । बैठकमा जिल्लास्थित सभापति, प्रतिनिधिबाट आआफ्नो जिल्लाको प्रगतिको अवस्थाबारे विवरण पेस भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की, प्रादेशिक रक्तसञ्चार सेवाका प्रमुख अर्जुन ज्ञवालीले समग्र गण्डकी प्रदेशको रक्तसञ्चार सेवाको अवस्था लगायत वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए भने मन्त्रालयका सचिव विनोदविन्दु शर्माले रक्तसञ्चार सेवाको लागि गण्डकी प्रदेश सरकारले रगत तथा रगतजन्य सेवा निःशुल्क गरेको बताउदै नेपाल रेडक्रस सोसाइटीले गरेको मानवीय सेवाको उच्च प्रशंसा गरे ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गण्डकी प्रदेश सरकारले गरेको निःशुल्क रक्तसञ्चार सेवाको निरन्तरता हुने बताउँदै यससँग सम्बन्धित सेवाका लागि प्रदेश सरकारले थप सहयोग गर्न सधैँ तत्पर रहेको बताईन् । उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गर्दै नेपाल रेडक्रस सोसाइटीबाट हुने मानवीय सेवाको निरन्तरताको अपेक्षा उनले गरिन् ।
कम्पाउन्ड सेवासहित ३३ हजार युनिट रगत वितरण गरेको कास्की शाखा नेपालकै उत्कृष्ट सेवा प्रदान गर्ने शाखाका रूपमा हालसालै पुरस्कृतसमेत भएको बताउँदै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डन्डराज शर्माले सङ्कलित रगतको गुणस्तर कायर राख्नका लागि थप योजना बनाउनुपर्ने बताएका छन् । रक्तसञ्चार सेवाका लागि आवश्यक हुने जनशक्ति, भौतिक पूर्वाधार, एम्बुलेन्स, भ्यानसहित औजार–उपकरणको व्यवस्थापनको चुनौती रहेको बताए ।
