रोमीको विरासत अब २९ वर्षीय योगेशको काँधमा

Share this post :

Facebook
Twitter
WhatsApp

कांग्रेसको राजनीतिमा मुस्ताङमा सुपरिचित नाम हो( रोमी गौचन थकाली । मुस्ताङदेखि पोखरासम्म व्यापारिक वर्चस्व बनाएका गौचन होटल व्यवसायी हुन् । तर, राष्ट्रिय राजनीतिमा भने उनको अलग छवि छ, व्यापारको नाफा(घाटाभन्दा निकै माथि छ । अब राजनीतिमा उनको विरासत थाम्न छोरा योगेश गौचन थकाली आइपुगेका छन् ।
नेपाली कांग्रेसबाट टिकट लिएर मुस्ताङदेखि चार पटक चुनाव लडेका रोमी गौचनले दुई पटक चुनाव जिते, वाणिज्यमन्त्रीसमेत भए । तर, उनी अहिलेसम्म पार्टीको केन्द्रीय सदस्यसमेत रहेनन्, बरू तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले पटक(पटक केन्द्रीय सदस्यको अफर गर्दा पनि अस्वीकार गरेर चर्चा पाए । त्यहीकारण कांग्रेसभित्र त्यागी नेताका रूपमा चिनिन्छन् उनी ।
मन्त्री हुँदा वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिस लिएका उनी गुटबन्दीको विपक्षमा उभिने नेतामा पर्छन् । ०७४ मा चुनाव हारेपछि जिल्लामा पार्टीको संगठन मजबुत बनाउन लागेका गौचन गत मंसिरमा भएको कांग्रेसको १४ औँ महाधिवेशनबाट सर्वसम्मत जिल्ला सभापति भए ।
केन्द्रीय सदस्य अस्वीकार गरेका उनी जिल्ला सभापति बनेपछि कांग्रेसबृत्तमा चर्चा चल्यो, ‘उनी आफ्नो जिल्लामा संगठन मजबुद बनाएर चुनाव जित्ने योजनामा छन् ।’ तर, गौचनले यसपटक आफ्नो तीन दशकदेखिको राजनीतिक विरासत बिसाए, स्थानीय चुनावमा देखिएको मतदाताको युवामोहलाई देखेर २९ वर्षे छोरालाई अघि सारे । अन्ततः रोमीले मुस्ताङमा बनाएको राजनीतिक विरासत आफ्नै छोरालाई सुम्पिएका छन् ।
रोमीका छोरा योगेश गौचन यसपटकको निर्वाचनमा निर्वाचित हुने पहिलो प्रतिनिधिसभा सदस्य बनेका छन् । देशभर युवाको पक्षमा जनलहर सिर्जना हुँदा कांग्रेसबाट टिकट पाउने उनी सबैभन्दा कान्छा थिए । उनले नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका छन् । पर्यटकीय गन्तव्यका रूपमा चिनिएको मुस्ताङका मतदाता मुस्ताङमा भन्दा पोखरा र काठमाडौंमा छरिएका छन् । यहाँको कुल जनसंख्या नै ११ हजार ५९३ मात्रै छ । यसपटकको चुनावमा यहाँ १० हजार ९५७ मतदाता थिए । त्यसमध्ये २९ वर्षको उमेरमै सांसद निर्वाचित भएका गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाएका छन् ।
त्यसो त योगेश बाबुको विरासत मात्रैको बलमा भने सांसद बनेका होइनन् । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय हुन् । नेविसंघबाट राजनीति थालेका उनी कांग्रेसको लेते गाउँ सभापति, जिल्ला कार्यसमिति सदस्य हुँदै १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका थिए । उनी हाल गण्डकी प्रदेश कार्यसमितिका सदस्य हुन् ।
२०५० वैशाख २७ मा यहाँको थासाङ गाउँपालिकाको लेतेमा जन्मिएका उनी बिजनेस म्यानेजमेन्टमा स्नातक हुन् ।
उनको व्यावसायिक छविसमेत छ । बुवाको व्यवसायमा उनको सक्रिय छन् । उनी हाल होटल कालोपानी, लेते मुस्ताङ र पोखरामा सञ्चालित त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक हुन् । उनले मुस्ताङमा किवी खेतीको अर्गानिक फार्मसमेत सञ्चालन गरेका छन् ।
६ महिनाअघि भएको स्थानीय तहको निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार वटामा नेकपा एमालेले जितेको थियो । तर, ६ महिनापछिको चुनावमा भने कांग्रेसले बदला लिएको छ । त्यसो त रोमीले छोरालाई अघि सारेरै भएपनि एमालेका तुलाचनसँग ०७४ को हारको बदलासमेत लिएका छन् । रोमी ०५६, ०६४, ०७० र ०७४ मा निरन्तर चुनाव लड्दा ०६४ र ०७० मामात्रै निर्वाचित भए ।
त्यसो त तुलाचन पनि कुनै बेला रोमीकै कार्यकर्ता हुन् । ०७० मा भने तुलाचनले रोमीविरुद्ध बागी उम्मेदवारी दिएर निकटतम प्रतिद्वन्द्वी भए । ०४८ सालदेखि नै कांग्रेसमा सक्रिय रहेका तुलाचनले ०७० मा बागी उम्मेदवारी दिएका थिए । त्यसबेला रोमीले १३ मतले मात्रै चुनाव जिते ।
०७० मा बागी उठेका तुलाचन ०७४ मा भने एमालेमै प्रवेश गरेर उठेर चुनाव जिते । ०७४ मा तुलाचनले ३ हजार ५४४ मत ल्याउँदा रोमीले ३ हजार १८१ मत पाएका थिए ।
त्यसो त मुस्ताङ कांग्रेसले यसपटक पनि रोमीलाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको थियो । प्रदेशसभा सदस्यका लागि समेत उम्मेदवार चयनको अधिकार जिल्ला सभापति गौचनलाई नै दिइएको थियो ।
तर गौचनले आफू विश्राम लिएर योगेशलाई अघि सारेका हुन् । गौचनले प्रदेशसभा सदस्यमा समेत यसपटक ४० मुनिका युवालाई उम्मेदवार बनाएका थिए । एमालेले भने ०७४ मा निर्वाचित नेताहरुलाई नै उम्मेदवार बनाएको थियो । इकान्तिपुरबाट साभार…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *