मोटरेबल पुल लच्किएको १७ महिना पुगिसक्दा पनि अलपत्र अवस्थामा छ । पोखरा महानगरपालिका–३२ गगनगौडा र ३३ भरतपोखरी जोड्ने लामगादीस्थित सेतीनदीमा निर्माणा गरिएको मोटरेबल पुल परीक्ष्णको लागि टेको निकाल्ने क्रममा लच्किएको थियो । ६० टन भार थेक्ने गरी निर्माण गरिएको उक्त पुल निर्माण सम्पन्न भई परीक्षणको लागि तयारी गर्दा २०७९ माघमा लच्किएको थियो ।
पोखरा–३२ का ६० वर्षिय इन्द्रबहादुर महत क्षेत्रीले गुणस्तरीय सामान प्रयोग नहुँदा पुल लच्किएर अलपत्र परेको बताए । उनले पुल स्थानीयबासीको लागि निकै महत्वपूर्ण रहेको बताए । सँगै रहेको सानो पुल २० वर्षअघि स्थानीयले श्रमदान गरेर बनाएको उनले सुनाए । पोखरा–३१, ३२ र ३३ वडाका बासिन्दाले प्रत्यक्षरुपमा विहानबेलुका सेवा लिने यो पुल पोखरा बाइपासकोरुपमा लिएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । पुल निर्माणमा प्रयोग हुने स्टीलका पत्ताहरु न्यून गुणस्तरको भएकाले समस्या आएको उनको बुझाई छ । पुल निर्माणको जिम्मा इलाइट कन्स्ट्रक्सन प्रालिले पाएको थियो ।
पूर्वाधार विकास विभाग (डोली)ले ७ करोडको लागतमा पुल निर्माण गरेको थियो । ६ करोड लागतमा निर्माण सम्झौता गरिएको यस पुलको तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि तत्कालीन समय कोरोनाको वाहाना बनाउदै दुई पटकसम्म म्याद थप गरि ७ करोड लागत पु¥याइएको थियो । तर, उक्त यतिबेला अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन् ।
स्रोतका अनुसार निर्माणा कम्पनीले विभागबाट सम्झौता रकमको ६० प्रतिशत भुक्तानी पाइसकेको छ । विभागको स्थानीय सडकपुल कार्यक्रममार्फत २०७५ पुष २२ मा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । १८ महिनामा सक्ने गरि सम्झौता भएको ६१ मिटर लम्वाईको सडकपुलको डिजाइन स्वीस सरकारले सहयोग गरेको प्राविधिक टोलीले गरेको थियो । पृथ्वी राजमार्गको वैकल्पिक मार्गको रुपमा स्याङ्जा र पोखरालाई जोड्ने यो पुल अलपत्र परेपछि यस क्षेत्रका स्थानीय चिन्तित छन् ।
पुल निर्माणको प्रत्यक्ष निगरानी गरेका विभागका पुल शाखा प्रमुख कृष्ण कटुवालले पुललाई पुनः निर्माण गर्ने प्रयास जारी राखेको बताए । पहिले नै डिजाइन गरेको कम्पनीले पुनः डिजाइन गरी फाइनल प्रति विभागमा बुझाइएको उनले बताए । पुल लच्किएपछि ७ दिनको म्याद राखेर कटुवालको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले पनि पुल लच्किनुको यर्थाथ कारण पत्ता लगाउन नसकेको उनले स्वीकार गरे । कटुवालले विकल्पहरु परीक्षण गरिरहेको बताए । अहिले पुलको ढलान पनि भत्काइएको छ । प्रप क्याण्डिलिभर प्रविधिबाट यो पुल बनाइएको थियो ।